२९, जेष्ठ २०८२
जुम्ला ।जुम्लाको चन्दननाथ नगरपालिका–१ दानसाँघुस्थित तिला नदी किनारमा सोमबार एक दृश्य देखेर स्थानीयहरू अत्तालिए। नदीमा केही व्यक्ति बगिरहेको भयावह दृश्य देखेपछि स्थानीयहरू हारगुहार गर्दै उद्धारको लागि चिच्याउँदै थिए। तर त्यो कुनै वास्तविक विपद् थिएन — त्यो थियो विपद्को समयका लागि गरिएको नमूना उद्धार अभ्यास।
नेपाली सेनाको श्री देवीदत्त गणको अगुवाइमा गरिएको अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म, जिल्ला प्रशासन कार्यालय, रेडक्रस र चन्दननाथ नगरपालिकाको समन्वय रहेको थियो। अभ्यासमा डुङ्गा, डोरी र अन्य उद्धार उपकरण प्रयोग गरी नदीमा बगेका मानिसहरूको नाटकीय तरिकाले उद्धार गरियो।
सुरक्षाकर्मीहरूले भिरबाट खसेको व्यक्तिलाई डोरीमार्फत तानेर सुरक्षित स्थानमा ल्याउने, बाढीमा फसेकाहरूलाई डुङ्गाबाट बचाउने लगायतका व्यावहारिक तरिकाहरू देखाए।
अभ्यास अवलोकन गरिरहेका स्थानीय टेकबहादुर शाहीले भने, “यस्तो विपद् त शत्रुलाई पनि नपरोस्। गाउँले पानीसँग जबरजस्ती गर्न नहुने रहेछ भन्ने थाहा पाइयो।”
उनका अनुसार विपद्मा तालिमप्राप्त सुरक्षाकर्मी तुरुन्त खटिने व्यवस्था राज्यले गर्नुपर्ने आवश्यकता छ। “विपद् आएपछि मात्रै होइन, अगावै तयारी गर्नुपर्छ,” उनले जोड दिए।
स्थानीय एकुमाया गुरुङले विपद् नमूना अभ्यासबाट आत्तिन नहुने र कसरी जीवन रक्षा गर्ने भन्ने कुरामा थुप्रै कुरा सिकेको बताइन्। “सुनेरभन्दा देखेर धेरै समय सम्झन सकिन्छ,” उनले भनिन्।
मालिका आधारभूत विद्यालयका विद्यार्थी सुरेश कामीले अभ्यास हेर्दा ‘विपद् परेझैँ’ लागेको र वास्तविक विपद्मा आफूहरूले कस्तो व्यवहार गर्नुपर्छ भन्ने जानकारी भएको बताए।
अभ्यासमा तीन विद्यालय — मालिका आधारभूत विद्यालय आचार्यबाडा, नवप्रभात आधारभूत विद्यालय दानसाँघु, र कैशाल बौद्धी विद्यालय — का सयभन्दा बढी विद्यार्थी सहभागी थिए।
अभ्यास निरीक्षणमा प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, जिल्ला प्रहरी प्रमुख रविनबाबु रेग्मी, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापा लगायतको उपस्थिति थियो। गणपति धिरज थापाले भने, “सुरक्षाकर्मीहरू सधैं तयारी अवस्थामा रहनुपर्छ। विपद् अघोषित हुन्छ, त्यसैले यस्ता अभ्यास अत्यावश्यक छन्।”
वर्षायाम सुरु हुनै लागेका बेला जुम्ला जस्तो भौगोलिक रूपमा संवेदनशील क्षेत्रमा गरिएको यो अभ्यासले समुदायस्तरमै विपद्बाट जोगिन पूर्वतयारीको महत्व पुष्टि गरेको छ।