नेपालगञ्जमा लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर सञ्चालन, दक्ष जनशक्ति उत्पादनमा केन्द्रित

  • नमस्ते कर्णाली

  • २९, जेष्ठ २०८२
    बाँके ।वैदेशिक तथा स्वदेशी रोजगारीका लागि आवश्यक सीप र दक्षता विकास गर्ने उद्देश्यले नेपालगञ्जमा लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। एक औपचारिक कार्यक्रमका बीच गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाह र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले संयुक्त रूपमा सेन्टरको उद्घाटन गर्नुभयो।

    प्रमुख अतिथि मेयर यादवले नेपाली युवाहरूको इमानदारी, मेहनत र अनुशासनका कारण वैदेशिक रोजगार बजारमा उनीहरूको उच्च माग रहेको बताउँदै दक्ष जनशक्तिको आवश्यकता दिनप्रतिदिन बढ्दो भएको उल्लेख गर्नुभयो। “नगरपालिकाले सेन्टरसँग सहकार्य गरेर दक्ष जनशक्ति उत्पादनमा सहकार्य गर्नेछ,” उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो।

    नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सीप सिकेर विदेश जानु फाइदाजनक हुने बताउनुभयो। “सीपयुक्त युवालाई विदेशमा राम्रो पारिश्रमिक, सुरक्षित रोजगारी मिल्छ। यसैले यो सेन्टर पश्चिम नेपालको प्रमुख सीप केन्द्र बन्ने छ,” शाहले भन्नुभयो।

    सेन्टरका निर्देशक भोदुराम थारुले कार्यक्रमलाई सम्बोधन गर्दै लियाना ट्रेनिङ सेन्टरले युवाहरूलाई आवश्यक ज्ञान, सीप र व्यावसायिकता प्रदान गरेर रोजगारीसँग जडान गराउने दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “हामी दक्ष जनशक्ति उत्पादनको माध्यम भएर युवाहरूको भविष्य उज्वल बनाउने लक्ष्यमा छौँ।”

    प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले तालिमबिना विदेश जाने धेरै युवाहरूले मनग्य रोजगारी नपाएको गुनासो रहेको उल्लेख गर्दै सेन्टरमार्फत योग्य जनशक्तिका लागि आगामी आर्थिक वर्षमा बजेट छुट्याइने जानकारी दिनुभयो।

    कार्यक्रममा नेकपा माओवादी केन्द्रकी नेतृ मिना मल्ल पुनले शिक्षा, सीप र रोजगारबीच सहकार्य आवश्यक रहेको बताउँदै संस्थाको सफलताको शुभकामना दिनुभयो।
    पूर्व मेयर कृष्ण केसी, सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउत, शोभाकान्त खनाल, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक ओम खड्का, समाजसेवी अमर भण्डारी, नेपाली कांग्रेसका जीवन मल्ल, लियाना म्यानेजमेन्ट सर्भिसका निर्देशक उदय खत्री, नेपालगञ्ज स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्द, भान्से लक्ष्मण प्रसाद भण्डारी लगायतले सीप विकास, व्यावसायिकता र समन्वयको महत्त्वमा जोड दिनुभयो।

    कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभाग बाँकेका प्रमुख ओम खड्काको सरुवा पछि लियानाले मायाको चिनो प्रदान गर्दै उहाँलाई आगामी कार्यकालको सफलताको शुभकामना दिएको थियो।

    सेन्टरमा आधुनिक प्रविधियुक्त कक्षा कोठा, केयरगिभर प्रशिक्षण प्रयोगशाला, बारिस्टा र सेफ तालिम कक्षहरू रहेका छन्। २०–२५ जना प्रशिक्षार्थी अट्ने क्षमता भएका कोठाहरू रहेको जानकारी सेन्टरका सीईओ अभिषेक थारुले दिनुभयो।

    कार्यक्रममा लेखा अधिकृत विमला शर्माले फूलमाला लगाएर अतिथिहरूको स्वागत गर्नुभएको थियो।
    कार्यक्रममा बाँके–बर्दिया क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, सुरक्षा निकायका प्रतिनिधि र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

     

     

  • ३० जेष्ठ २०८२, बिहीबार ०७:२२ प्रकाशित

  • Nabintech