३०, जेष्ठ २०८२
बाँके ।यस वर्ष बाँके जिल्लामा विपद्का घटनाबाट २५ हजार घरपरिवारका करिब डेढ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ। यही पूर्वानुमानका आधारमा तयार पारिएको “विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८२” (उन्नाइसौँ अद्यावधिक) लाई सुझाव र परिमार्जनसहित अनुमोदन गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सो योजनाका आधारमा विपद् पूर्व तयारी र प्रतिकार्यका गतिविधि सञ्चालन गर्न निर्देशनसमेत दिएको छ।
मनसुन सुरु हुने अवस्थामा रहेकाले यसैसँग सम्बन्धित मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना २०८२ पनि अनुमोदन गरिएको छ। उक्त योजना १५ हजार प्रभावित परिवारको पूर्वानुमानका आधारमा तयार पारिएको हो।
आपतकालीन कार्यसञ्चालन केन्द्रका विपद् व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार, सबै स्थानीय तहहरूलाई सरोकारवालाको सहभागितामा बैठक बसी योजना निर्माण गर्ने निर्णय भएको छ। साथै, आ–आफ्नो विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना छिटो अद्यावधिक गर्न पनि स्थानीय तहलाई निर्देशन दिइएको छ।
मनसुनजन्य बाढी तथा अन्य विपद्का घटनाहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न योजनाहरूको परीक्षण, स्रोत साधन र जनशक्तिको समन्वय तथा सहकार्यमा जोड दिइएको छ। सोही सन्दर्भमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, रेडक्रस, विभिन्न मानवीय संस्थाहरू र समुदायको सहभागितामा बाढीजन्य कृत्रिम विपद् अभ्यास पनि गरिने भएको छ। अभ्यास ज्येष्ठ ३० गते शुक्रबार बिहान ७:३० बजे राप्ती नदीको सिधनिया घाटमा हुनेछ।
बैठकमा गर्मीयाममा देखिने आगलागी, डढेलो, लू र हावाहुरीका सम्भावित जोखिमबारे पनि गम्भीर छलफल भएको थियो। यस्ता घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न सबै सरोकारवालालाई थप जिम्मेवार र सक्रिय हुन निर्देशन दिइएको छ। साथै, कार्ययोजना अनुसारका गतिविधिहरूलाई निरन्तरता दिँदै अन्तरपालिका समन्वयमा दमकल सेवा थप प्रभावकारी बनाउन अनुरोध गरिएको छ।
बैठक बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष धर्मराज जोशीको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको साथै सम्बन्धित निकायका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।