३१, जेष्ठ २०८२
जुम्ला।जुम्लामा चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित चन्दननाथ अर्ग्यानिक मिनि मार्केट ले हालसम्म १० करोड रुपैयाँभन्दा बढीको रैथाने अन्नबाली विक्री गरेको छ। सहकारीले आफ्ना सदस्यहरूलाई कृषिमा आकर्षित गर्न बचत र बजार प्रवर्धनको माध्यम बनाउँदै अर्ग्यानिक उत्पादनको संरक्षण र बजारीकरणमा सफलता हासिल गरेको हो।
२०६४ सालमै अर्ग्यानिक जिल्ला घोषणा गरिएको जुम्लामा थन्किएको स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन २०७४ साल फागुनदेखि चन्दननाथ मिनि मार्केटमार्फत सिमी, चामल, ओखर, भटमास, स्याउका चाना, चिनु, कागुनो, गहत, जौको पिठो लगायतका वस्तुको प्याकेजिङ र लेवलिङ गरी विक्री सुरु गरिएको थियो।
सहकारीका व्यवस्थापक ऋषिराम पाण्डेका अनुसार, “२०७६ सालदेखि हालसम्म करिब १० करोड रुपैयाँ बराबरको अर्ग्यानिक खाद्य वस्तु विक्री तथा निर्यात गरिएको छ। अहिले सहकारीसँग २० हजारभन्दा बढी सदस्य आबद्ध छन्। हामी सदस्यको उत्पादन खरिद गर्छौं र चाहेमा पैसा हातमै दिइन्छ, नचाहे खातामा बचत गरिन्छ। यसले कृषिमा उत्साह थपेको छ।”
मिनि मार्केट सञ्चालन भएयता स्थानीय किसान मात्र होइन, बाहिरी किसानसमेत उत्पादन लिएर मार्केटमा आउने गरेका छन्। यद्यपि बजारमा माग उच्च रहेकाले आपूर्ति चुनौतीपूर्ण बन्न थालेको पाण्डेले बताउनुभयो।
हाल सहकारीमार्फत कालिकोट, नाग्म बजार, सुर्खेत र काठमाडौँसम्म अर्ग्यानिक मिनि मार्केटको विस्तार गरिएको छ। जुम्ला आउने पर्यटक, कर्मचारी तथा आगन्तुकहरू यिनै अर्ग्यानिक वस्तु मायाको चिनोका रूपमा लिएर जान थालेका छन्। विशेष गरी दसैँ-तिहारको समयमा पर्यटकको चाप अत्यधिक हुने भएकाले सामान व्यवस्थापनमै मुस्किल पर्ने गरेको व्यवस्थापन पक्षको भनाइ छ।
चन्दननाथ अर्ग्यानिक मिनि मार्केटले जुम्लाको पहिचान र सम्भावनालाई बजारीकरणमार्फत देशभर फैलाउन सफल भएको छ।