३१, जेष्ठ २०८२
बाजुरा ।बाजुराको जिल्ला अस्पतालमा अत्यन्तै जटिल अवस्थाकी गर्भवती महिलाको सफल शल्यक्रिया गरी सुरक्षित प्रसूति गराइएको छ। स्वामीकार्तिक खापर गाउँपालिका–१ की २३ वर्षीया बुट्टा विकको पेटमा एक मृत र एक जीवित भ्रूण रहेका कारण अवस्था जोखिमपूर्ण भए पनि चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेर आमा र जीवित शिशु दुवैको ज्यान जोगाउन सफल भएको हो।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सुनिल कुमार शाहका अनुसार विकको पेटमा रहेका दुवै भ्रूण उल्टो स्थितिमा थिए। “पहिला मृत भ्रूण निकालेर त्यसपछि जीवित शिशुको सफल सल्यक्रिया गर्यौं,” डा. शाहले जानकारी दिनुभयो।
शल्यक्रिया टोलीको नेतृत्व डा. शाहले गर्नुभएको थियो भने अस्पतालका प्रमुख डा. चन्दशेखर यादवले पनि आमाको ज्यान बचिनु सुखद पक्ष भएको बताउनुभयो।
अस्पतालका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ४९ जना जटिल अवस्थाका गर्भवती महिलाको सफल शल्यक्रिया मार्फत सुरक्षित प्रसूति गराइएको छ। जिल्लामा सुदूरपश्चिमका दुर्गम क्षेत्रका गर्भवती महिलाहरूलाई समेत जिल्ला अस्पतालमा समयमै सेवा दिन थालिएको भन्दै अस्पतालले यो उपलब्धिलाई महत्वपूर्ण मानेको छ।