३१, जेष्ठ २०८२
बाजुरा ।बाजुराका खप्तड छेडेदह गाउँपालिका र हिमाली गाउँपालिकाले एम्बुलेन्स सेवा पाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममार्फत नेपालस्थित भारतीय दूतावासले दुबै पालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
कार्यक्रममा खप्तड छेडेदह गाउँपालिकाकी उपाध्यक्ष बशुदेवी नाथ र हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले एम्बुलेन्स ग्रहण गर्नुभएको थियो । नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत प्राप्त उक्त एम्बुलेन्सहरूले दुर्गम बस्तीमा स्वास्थ्य सेवा पुर्याउने कार्यमा सहजता ल्याउने विश्वास लिइएको छ ।
उपाध्यक्ष नाथका अनुसार, लामो समयदेखिको माग र पहलपछि गाउँपालिकाले एम्बुलेन्स पाएको हो । उहाँले जनताका लागि एम्बुलेन्स सेवा पहिलो प्राथमिकताको रूपमा रहेको बताउँदै थप एम्बुलेन्सका लागि काठमाडौं महानगरसँग पनि सहकार्यको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिनुभयो ।
यस्तै, हिमाली गाउँपालिका अध्यक्ष मल्लले यसअघि नै एक एम्बुलेन्स सञ्चालनमा ल्याइसकेको जानकारी दिँदै थप एम्बुलेन्स पाएपछि सेवा अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुर्गम हिमाली भेगमा आपतकालीन स्वास्थ्य सेवा पुर्याउन एम्बुलेन्सले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
एम्बुलेन्स सेवा सुरु भएपछि दुर्गम बस्तीका नागरिकलाई आकस्मिक अवस्थामा सहजै उपचारस्थल पुर्याउने सुविधा पुग्ने विश्वास स्थानीय तहले गरेका छन् ।