२,असार २०८२
जुम्ला । लोकसेवा आयोगको ७५औं वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा लोकसेवा आयोग जुम्ला कार्यालयको आयोजनामा तीनदिने विविध कार्यक्रम आयोजना गरिएको छ। असार १ गतेसम्म सञ्चालन भएको कार्यक्रममा हाजिरीजवाफ प्रतियोगिता, सरसफाइ, दीप प्रज्वलन लगायतका गतिविधि समावेश गरिएको थियो।
माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता असार १ गते सम्पन्न भएको थियो। प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीको प्रमुख आतिथ्यता र लोकसेवा आयोग जुम्ला कार्यालयका कार्यालय प्रमुख दीनबन्धु सुबेदीको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो।
केन्द्रीय लोकसेवा आयोगको निर्देशनमा देशभर एकै समयमा एउटै प्रश्नपत्रका साथ सञ्चालन गरिएको प्रतियोगितामा चन्दननाथ नगरपालिकाभित्रका पाँच विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा जनता माध्यमिक विद्यालय, महतगाउँ प्रथम, चन्दननाथ माध्यमिक विद्यालय, खलङ्गा द्वितीय, र भैरव माध्यमिक विद्यालय, धुपीढुस्का तृतीय स्थान हासिल गर्न सफल भए। विजयी विद्यालयहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रम दुई सत्रमा सम्पन्न भएको थियो। पहिलो सत्रमा हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिनुका साथै दोस्रो सत्रमा पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा लोकसेवा आयोग जुम्ला कार्यालयका नायब सुब्बा जनकबहादुर शाहीले स्वागत मन्तव्य राख्नुभएको थियो भने भैरव माध्यमिक विद्यालयका शिक्षक धर्मेन्द्र अधिकारीले सहभागी विद्यालयहरूको तर्फबाट शुभकामना मन्तव्य दिनुभएको थियो। प्रमुख अतिथि प्रजिअ शाहीले लोकसेवा आयोगको निष्पक्ष भूमिका र सार्वजनिक सेवामा विद्यार्थिहरूको सहभागिताको सम्भावनाबारे प्रेरणादायी मन्तव्य राख्नुभएको थियो।
कार्यक्रम समापन गर्दै कार्यालय प्रमुख दीनबन्धु सुबेदीले लोकसेवा आयोगको ऐतिहासिक पृष्ठभूमि, संवैधानिक हैसियत, कार्यक्षेत्र र हालसम्मको योगदानबारे स्पष्ट धारणा व्यक्त गर्नुभयो।
दुवै सत्रको सञ्चालन शाखा अधिकृत ध्रुव रिजालले गर्नुभएको थियो। कार्यक्रम सफल बनाउन जिल्ला प्रशासन कार्यालय, देवीदत्त गण, शिक्षा समन्वय इकाई, चन्दननाथ नगरपालिका, पशु सेवा कार्यालय, जुम्ला बहुमुखी क्याम्पस लगायतका निकायले प्राविधिक सहयोग गरेका थिए।