६, असार २०८२
बाँके ।बाँकेको कोहलपुर क्षेत्रमा सिकलसेल रोगबाट पीडित व्यक्ति र उनीहरूका परिवारलाई लक्षित गर्दै ढकिया बुन्ने तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ। लुम्बिनी प्रदेश सरकारको क्षेत्र विकास कोषबाट विनियोजित बजेट अन्तर्गत कार्यक्रमको आयोजना गरिएको हो।
कोहलपुर नगरपालिकाका अनुसार तालिममा करिब २० जना सिकलसेल रोगी तथा उनीहरूका परिवारका सदस्यहरू सहभागी भएका छन्। तालिममार्फत सहभागीहरूलाई घरेलु सीप प्रदान गरी उनीहरूको आर्थिक आत्मनिर्भरता बढाउने लक्ष्य लिइएको छ।
नगर प्रमुख पूर्णप्रसाद आचार्यले सिकलसेल रोगले दीर्घकालीन उपचार, शारीरिक कमजोरी र आर्थिक समस्यासमेत निम्त्याउने भएकाले पीडितहरूलाई परम्परागत सीपमार्फत घरमै आम्दानी गर्न सक्ने अवसर दिने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो।
उक्त कार्यक्रमको आयोजना, व्यवस्थापन र समन्वय घरेलु कार्यालय तथा सिद्धार्थ एकीकृत विकास केन्द्रको सक्रियतामा सम्पन्न भएको हो। तालिमले सहभागीहरूलाई आत्मनिर्भर बनाउने मात्र नभई उनीहरूको मनोबल वृद्धि गर्ने अपेक्षा गरिएको छ।
तालिमका सहभागीहरूले प्रशिक्षक, आयोजक संस्था र सहयोगी निकायप्रति आभार व्यक्त गर्दै, यस्तो मानवीय कार्यक्रमले सीमित क्षमताभित्र आर्थिक सम्भावनाको उजागर गरेको बताएका छन्।
लुम्बिनी प्रदेशसभा सदस्य सन्जु कुमारी चौधरीले तालिम सिकलसेल पीडितहरूको जीवनमा आत्मनिर्भरता र गरिमामय जीवनयापनको नयाँ ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो। साथै, तालिमपछि उत्पादन गरिने सामग्रीको बजारिकरणका लागि पनि नगरपालिकाले सहजीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
सामाजिक न्याय र समावेशीतालाई केन्द्रमा राखी गरिएको यो पहल कोहलपुर नगरपालिकाको सीपमुखी विकास कार्यक्रमको एउटा उदाहरण हो।