८, असार २०८२
बाँके। कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा महिलाको स्वास्थ्यलाई प्राथमिकता दिइएको छ। शनिबार सम्पन्न नगरपालिकाको १७औं नगरसभामा नगरप्रमुख पूर्णप्रसाद आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ३० वर्ष माथिका सबै महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने घोषणा गर्नुभयो।
महिलामा दिन प्रतिदिन बढ्दै गइरहेको पाठेघरको क्यान्सरको जोखिम न्यूनीकरण गर्न समुदायमै पुगी सचेतना र परीक्षण कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गरिने उहाँले बताउनुभयो। नगर प्रमुख आचार्यका अनुसार, कार्यक्रमले महिलाको प्रारम्भिक चरणमै रोग पहिचान र उपचारको पहुँच विस्तार गर्न सहयोग पुर्याउनेछ।
यस्तै, नगरपालिकाले हाल तीव्र रूपमा बढ्दो गैरसङ्क्रमणीय रोगहरू—जस्तै उच्च रक्तचाप (प्रेसर), मधुमेह (सुगर), मिर्गौला सम्बन्धी समस्याहरूको पहिचान र रोकथामका लागि पनि समुदायमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। यस्ता शिविरलाई प्रभावकारी बनाउन कोष समेत स्थापना गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ।
नगरपालिकाको यस पहलले स्थानीय तहको सक्रियतामा आधारित समावेशी स्वास्थ्य सेवा विस्तारमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।