कोहलपुरका लागि १ अर्ब १६ करोडको बजेट सार्वजनिक

  • नमस्ते कर्णाली

  • ९, असार २०८२
    बाँके ।कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि “हरित, संगमस्थल हाम्रो शहर : सुन्दर, समृद्ध कोहलपुर नगर” भन्ने मूल नारासहित नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख पूर्णप्रसाद आचार्यले नगरसभामा नीति तथा कार्यक्रम सुनाउँदा उपप्रमुख संगिता सुवेदीले आगामी वर्षका लागि एक अर्ब १६ करोड ७० लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभयो।

    नगर प्रमुख आचार्यले कोहलपुरको समग्र विकास, सामाजिक समावेशिता र आधुनिक व्यवस्थापन प्रणालीलाई प्राथमिकता दिँदै, भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्रमाण वितरण गरिने र हरित नगर निर्माणका लागि थप १० हजार बिरुवा रोपिने योजना सुनाउनुभयो।

    नगरलाई प्रविधिमैत्री बनाउने उद्देश्यले स्मार्ट डिजिटल बोर्ड जडान, ‘जनतासँग नगर प्रमुख’ संवाद कार्यक्रम, फुटबल प्याराफिट निर्माण, कोहलपुर साहित्यिक महोत्सव सञ्चालन, विज्ञान प्रयोगशाला पार्क र जैविक बनबाटिका निर्माण जस्ता कार्यक्रमसमेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

    शिक्षा क्षेत्रमा विशेष ध्यान दिँदै शैक्षिक तालिम केन्द्रको विकास, उत्कृष्ट शिक्षक छनोट, शिक्षक र शैक्षिक सामग्री बैंक, बाल संरक्षण कोष स्थापना, ‘साथीबाट सिक्ने, साथीलाई सिकाउने’ र ‘पढ्दै कमाउँदै’ कार्यक्रमहरू अघि सारिएको उपप्रमुख सुवेदीले जनाउनुभयो।

    स्वास्थ्य क्षेत्रमा ४० वर्ष माथिका सबै नागरिकको नियमित स्वास्थ्य परीक्षण र ३० वर्ष माथिका महिलाको पाठेघर मुखको क्यान्सर परीक्षण गरिने नीति राखिएको छ। प्रेसर, सुगर र मृगौला रोग नियन्त्रणका कार्यक्रम, रैथाने बाली उपभोगमा आधारित भान्सा सुधार योजना र सर्पदंश उपचार केन्द्र व्यवस्थापनमा पनि नगरले प्राथमिकता दिएको उपप्रमुख सुवेदीले बताउनुभयो।

    खेलकुद क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान र पुरस्कार दिने कार्यविधि बनाउने बताउँदै, कोहलपुरलाई खेलमैत्री नगरका रूपमा स्थापित गर्ने योजना पनि सुनाइयो।

    बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट १५ करोड ५० लाख, संघीय सरकारबाट विभिन्न शीर्षकमा प्राप्त रकम मिलाएर ७५ करोड ५७ लाखभन्दा बढी, प्रदेश सरकारबाट ५ करोड ७३ लाख र चालु वर्षको बाँकी रकमसमेत जोडेर कुल १ अर्ब १६ करोड ७० लाख रुपैयाँको बजेट प्रस्तुत गरिएको हो।

    उक्त बजेटमा पूर्वाधार विकासमा सबैभन्दा बढी ४०.९६ प्रतिशत, प्रशासनिक खर्चमा २८.७९ प्रतिशत, शिक्षा क्षेत्रमा १४.२३ प्रतिशत र स्वास्थ्यमा १.५६ प्रतिशत रकम विनियोजन गरिएको छ। वडास्तरका योजनामा १०.३४ प्रतिशत, वातावरण तथा विपद् व्यवस्थापन, सामाजिक विकास, महिला बालबालिका, कृषि, पशुपन्छी, रोजगार तथा पर्यटन प्रवर्द्धन जस्ता क्षेत्रहरूमा पनि बजेट छुट्याइएको छ।

    उपप्रमुख सुवेदीले बजेटसँगै नगरपालिकाले लिएको नीति तथा कार्यक्रम कोहलपुरलाई हरित, समावेशी, शिक्षित, स्वस्थ र आधुनिक शहरका रूपमा रूपान्तरण गर्न केन्द्रित रहेको स्पष्ट पारिन्। नगर सरकारको नेतृत्वले स्थानीय आवश्यकता र सम्भाव्यतालाई जोडेर ल्याएको नीति तथा कार्यक्रमले कोहलपुरको समृद्धिको यात्रालाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

     

  • ९ असार २०८२, सोमबार १०:४९ प्रकाशित

  • Nabintech