लागुऔषध नियन्त्रणमा नरैनापुर गाउँपालिकाको प्रतिबद्धता, विद्यालयस्तरसम्म चेतनामूलक अभियान सञ्चालन

  • नमस्ते कर्णाली

  • १२, असार २०८२
    बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले लागुऔषध नियन्त्रणलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ।

    मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रको आयोजनामा असार ६ गतेदेखि सुरु भएको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम आज नरैनापुर–३ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा सम्पन्न भएको हो। सो अवसरमा मदरसा र विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी लागुऔषधसम्बन्धी चेतनामूलक सन्देश दिइएको थियो।

    कार्यक्रमको समापन गर्दै अध्यक्ष शाहले नरैनापुरमा लागुऔषधको समस्या गम्भीर बन्दै गएको जनाउँदै विद्यालयस्तरमै चेतना फैलाउन सके यसलाई रोकथाम गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो। साथै, उहाँले आगामी आर्थिक वर्षको बजेटमा लागुऔषधविरुद्ध विशेष कार्यक्रम सञ्चालनका लागि बजेट छुट्याइने जानकारी दिनुभयो।

    कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक सुशील केसीले लागुऔषध नियन्त्रण कुनै एक निकायको मात्र जिम्मेवारी नभई सामूहिक प्रयास आवश्यक हुने उल्लेख गर्नुभयो। उहाँले अहिले साना बालबालिकासमेत ओसारपसारमा प्रयोग हुन थालेको अवस्था रहेकाले आधारभूत तहबाटै चेतनामूलक कार्यक्रम अपरिहार्य भएको बताउनुभयो।

    त्यसैगरी, वडा नं. ३ का अध्यक्ष अजय मिश्रले सबै तह र क्षेत्रको सहकार्यमा मात्र लागुऔषधमुक्त समाज निर्माण सम्भव हुने विचार राख्नुभयो। वडा नं. २ का सचिव लक्ष्मीकान्त मिश्रले आपराधिक क्रियाकलाप नियन्त्रणमा समुदायको भूमिका महत्त्वपूर्ण रहेको भन्दै प्रहरीको सक्रियता पनि आवश्यक रहेको उल्लेख गर्नुभयो।

    वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यले लागुऔषध आपराधिक प्रवृत्तिको मूल कारणमध्ये एक भएको जनाउँदै अहिले नियन्त्रण गर्न नसके आगामी १५ वर्षमा एक पुस्ता नै संकटमा पर्न सक्ने चेतावनी दिनुभयो।

    छ वटा मदरसा र विद्यालयमा सञ्चालित उक्त चेतनामूलक कार्यक्रममा पत्रकार, सुरक्षाकर्मी, समाजसेवीलगायतको सहभागिता रहेको थियो। सहभागीहरूले अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

     

  • १२ असार २०८२, बिहीबार ०९:४७ प्रकाशित

  • Nabintech