१६, असार २०८२
बाँके ।२२औँ राष्ट्रिय धान दिवसको अवसरमा बाँकेको कोहलपुर–१० मा रहेको जीवन ज्योति विद्यालयले व्यवहारिक र जीवन उपयोगी शिक्षामा जोड दिँदै विशेष कार्यक्रम आयोजना गरेको छ। कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि विद्यालयले खेतमै धान रोपाइ तथा दही–च्यूरा खाने कार्यक्रम आयोजना गरेको हो।
विद्यालयका प्रिन्सिपल फादर जोमन जेम्सका अनुसार, कृषि प्रधान देशमा विद्यार्थीहरूले किताबी ज्ञानसँगै व्यवहारिक रूपमा पनि सिक्न आवश्यक भएकाले यस्तो कार्यक्रम गरिएको हो। उहाँले भन्नुभयो, “धान रोपाइ र दही–च्यूरा हाम्रो संस्कृतिसँग गाँसिएको विषय हो। विद्यार्थीहरूले यसको व्यवहारिक महत्त्व बुझून् भनेर हामीले यो कार्यक्रम गरेका हौं।”
कार्यक्रममा सहभागी भएका करिब १५० जना विद्यार्थी र शिक्षकहरूले खेतमा उत्रिएर रोपाइ गरे। उनीहरू हातमा बीउ बोकेर पानीजमेको खेतमा पसेका थिए र दही–च्यूरा खाँदै कृषिको स्वाद लिएका थिए।
विद्यालयका बिज्ञान शिक्षक चेत चापागाईंले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै जीवन उपयोगी शिक्षा दिनु आजको आवश्यकता भएको बताउनुभयो। “पढाइसँगै व्यवहारमा पनि लागू हुने कुरा सिकाउने हाम्रो प्रयास हो,” उहाँले भन्नुभयो।
कार्यक्रममा सहभागी विद्यार्थीहरू पनि उत्साहित देखिए। कक्षा १२ मा अध्ययनरत विद्यार्थी समृद्दी अधिकारी भन्नुहुन्छ “पहिलो पटक खेतमा रोपाइ गरें। निकै रमाइलो अनुभव भयो। हामीले किताबमा मात्र पढेको कुरा व्यवहारमा सिक्न पाउँदा अझ बढी बुझ्न सकियो।”
त्यस्तै, अर्का विद्यार्थी सन्तोष बिसिले भन्नुभयो, “दही–च्यूरा हाम्रो मौलिक संस्कृति हो भन्ने कुरा यस कार्यक्रमबाट महसुस गर्न सकियो। विद्यालयले यस्तो कार्यक्रम गरेर हामीलाई नयाँ अनुभव दिलाएकोमा धन्यवाद दिन चाहन्छु।”
स्थापना भएको १२ वर्षमा उत्कृष्ट नतिजा ल्याउँदै आएको जीवन ज्योति विद्यालयले पछिल्लो दुई वर्षदेखि एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याइरहेको छ। सन् २०८१ सालको एसईई परीक्षामा सहभागी ३८ जना विद्यार्थीमध्ये ३७ जनाले ए प्लस र १ जनाले ए ग्रेड प्राप्त गरेका छन्।
विद्यालयले अघिल्लो वर्षदेखि विज्ञान तथा व्यवस्थापन सङ्कायमा कक्षा ११ र १२ सञ्चालन गर्दै आएको छ। विद्यालयले यस्ता व्यवहारिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।











