१९, असार २०८२
बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिका–९ स्थित झिझरी महिला सामुदायिक वनमा एकैदिन आठ हजारभन्दा बढी बिरुवा रोपिएको छ। डिभिजन वन कार्यालय बाँकेको आयोजनामा भएको वृक्षरोपण कार्यक्रममा ६.३६ हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवा रोपिएका हुन्।
डिभिजन वन कार्यालय बाँकेका प्रमुख शङ्करप्रसाद गुप्ताका अनुसार, रोपिएको क्षेत्रको परिधि १ हजार १३८ मिटर रहेको छ। उक्त क्षेत्रमा खयर, सिसौ, वीरेन्द्र फल, सतिसाल, अर्जुन, श्रीखण्ड (सेतो चन्दन), गोल्डमोहरलगायतका बिरुवा रोपिएको जानकारी दिनुभयो।
गुप्ताले जलवायु परिवर्तनको असर महिला, विपन्न र आदिवासी समुदायको कृषि तथा स्वास्थ्यमा गम्भीर रूपमा परेको उल्लेख गर्दै त्यसको न्यूनिकरणका लागि वृक्षरोपण आवश्यक भएको बताउनुभयो।
वृक्षरोपण कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरू, वातावरण अभियन्ताहरू, स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो। सामूहिक सहभागितामार्फत गरिएको यो वृक्षरोपण वातावरण संरक्षण, जैविक विविधता प्रवर्द्धन तथा जलवायु अनुकूलनतर्फको महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।