बर्दिया पूर्णखोप सुनिश्चितता तथा दिगोपनामा घोषणा

  • नमस्ते कर्णाली

  • २०, असार २०८२
    बर्दिया।बर्दिया जिल्लालाई ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला’ घोषणा गरिएको छ। जिल्लाभरका आठवटै पालिकाहरूमा क्रमशः पूर्णखोप सुनिश्चितता घोषणा भइसकेपछि बिहीवार एक विशेष समारोहबीच जिल्लालाई पूर्णखोप जिल्ला घोषणा गरिएको हो।

    पूर्णखोप सुनिश्चितता परिमार्जित निर्देशिका २०७८ अनुसार घोषणा गरिएको बर्दिया, लुम्बिनी प्रदेशभित्रको ११औं पूर्णखोप सुनिश्चित जिल्ला बनेको छ। कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य शान्ती थारुले स्वास्थ्यविना जीवन असम्भव रहेको उल्लेख गर्दै, घोषणासँगै यसको कार्यान्वयन र दिगोपनाका लागि थप पहल आवश्यक रहेको बताइन्। उनले ग्रामीण क्षेत्रमा खोप अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीप्रति उहाँले धन्यवाद ज्ञापन गरिन्।

    स्वास्थ्य निर्देशनालय भालुवाङ, दाङका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले बर्दियाको सफलताको प्रशंसा गर्दै अर्घाखाँचीपछि लुम्बिनी प्रदेशलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए।

    जिल्ला पूर्णखोप समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर बिष्टले लामो मेहनतपछि यो उपलब्धि हासिल भएको उल्लेख गर्दै, आगामी दिनमा नागरिकस्तरमै स्वास्थ्य सचेतना वृद्धि गर्न बजेट विनियोजन आवश्यक रहेको बताए।

    घोषणा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिसस उपप्रमुख अमिता कुमारी यादव, स्वास्थ्य कार्यालय प्रमुख नारायण प्रसाद चौधरी, बढैयाताल गाउँपालिका प्रमुख हिमालय त्रिपाठी, गुलरिया नगर उपप्रमुख साबित्रा गौतम, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि लगायत विभिन्न संघसंस्थाका प्रमुखहरूको उपस्थिति थियो।

    उक्त अवसरमा जिल्लाका आठ पालिकाबाट आठ–आठ जना स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो। साथै, सेवा निवृत्त भएका एक जना स्वास्थ्यकर्मी र दुई जना कर्मचारीलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।

     

  • २० असार २०८२, शुक्रबार १०:२६ प्रकाशित

  • Nabintech