२२, असार २०८२
बाँके ।बाँके राष्ट्रिय निकुञ्जको प्रचार–प्रसार र प्रवर्धनका लागि कोहलपुर नगरपालिकाको सहयोगमा कोहलपुर चौराहामा आकर्षक वन्यजन्तु मूर्तिहरू स्थापना गरिएको छ।
शनिबार कोहलपुर नगरपालिकाको आर्थिक सहकार्यमा बाँके राष्ट्रिय निकुञ्जले चौराहाको चारै दिशामा बाघ, चौका र हात्तीका मूर्तिहरू राखेको हो। निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार मूर्तिहरू चितवनबाट ल्याएर फाइबर प्रयोग गरी बनाइएको हो, जुन बलियो, नखुइलिने र टिकाउ छ।
“बाँके राष्ट्रिय निकुञ्ज देशकै कान्छो निकुञ्ज हो। संरक्षित जनावरहरूको प्रवर्धन तथा निकुञ्जको पर्यटन सम्भावनालाई उजागर गर्न मूर्तिहरू स्थापना गरिएको हो,” उहाँले बताउनुभयो।
कोहलपुर चौराहाको पूर्वतर्फ र उत्तरतर्फ बाघ, पश्चिमतर्फ चौका र दक्षिणतर्फ हात्तीको मूर्ति राखिएको छ। मूर्तिहरूले चौराहाको सौन्दर्य पनि बढाएको जनाइएको छ।
नगर प्रमुख पूर्णप्रसाद आचार्यले निकुञ्जको पहलमा मूर्तिहरू निर्माण गरिएकामा खुसी व्यक्त गर्दै, यदि यो प्रयास प्रभावकारी देखिए अन्य मुख्य सडक छेउका पर्यटकीय स्थानहरूमा पनि यस्ता मूर्तिहरू राख्ने योजना रहेको जानकारी दिनुभयो।
बाघको वासस्थान तथा जैविक मार्ग संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज २०६७ असार २८ गतेदेखि सञ्चालनमा आएको हो। बाँके, दाङ र सल्यान जिल्लाका ५५० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्जमा ८ वटा इकोसिस्टम, १२४ वनस्पति प्रजाति, ३२ स्तनधारी, ३०० भन्दा बढी चरा, ५८ माछा, २२ सरीसृप र ६ उभयचर प्रजाति पाइन्छन्।
यसरी मूर्तिको माध्यमबाट सुरु गरिएको प्रचार अभियानले निकुञ्जको पर्यटन विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।