२४, असार २०८२
बाँके ।नेपालगञ्जस्थित भेरी अस्पताल आर्थिक संकटको चपेटामा परेको छ। स्वास्थ्य बीमा बोर्डले समयमै भुक्तानी नदिँदा अस्पतालको सेवा प्रवाह नै प्रभावित हुने अवस्थामा पुगेको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. निराजन सुवेदीका अनुसार बीमाको रकम समयमा नआउँदा अस्पतालको सेवा सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको छ। “बिरामीले बीमाबाट सेवा लिए पनि रकम नआउँदा अस्पतालको आर्थिक व्यवस्थापनमा अप्ठ्यारो परेको छ,” उहाँले बताउनुभयो।
स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्ष २०८१/८२ मा भेरी अस्पताललाई १९ करोड ७० लाख रुपैयाँ भुक्तानी दिनुपर्नेमा हालसम्म जम्मा ३ करोड ७० लाख रुपैयाँ मात्रै उपलब्ध गराएको छ। अघिल्लो वर्षको ९० लाखमध्ये पनि केही दिनअघि मात्र ८१ लाख भुक्तानी दिइएको छ। हाल बोर्डले अस्पताललाई १६ करोड ९ लाख रुपैयाँ दिन बाँकी छ।
डा. सुवेदीका अनुसार अस्पतालमा दैनिक सञ्चालनका लागि आवश्यक औषधि, अक्सिजन, प्रयोगशाला सामग्री, डायलाइसिस सेवा र क्याथ ल्याब सञ्चालन गर्न समेत कठिनाइ भएको छ। “एक वर्षदेखि व्यापारी र सप्लायर्सलाई भुक्तानी गर्न नसकिएको छ। अहिले १४ करोड रुपैयाँ बराबरको बक्यौता छ,” उहाँले जानकारी दिनुभयो।
व्यापारीहरूले उधारोमा सामग्री दिन अस्वीकार गर्न थालेपछि अस्पतालको नियमित सेवा नै संकटमा पर्न थालेको डा. सुवेदीको भनाइ छ।
भेरी अस्पताल विकास समितिका डा. डक्ट प्रसाद धितालले बीमा कार्यक्रम सरकारले अनिवार्य बनाए पनि समयमै भुक्तानी नगर्ने अवस्था आफैंमा दुराशयपूर्ण भएको बताउनुभयो। “सरकारले भुक्तानी दिन सक्दैन भने बीमा कार्यक्रम हटाउने निर्णय गर्नुपर्छ, अन्यथा बोर्डले नियमित रूपमा भुक्तानी गर्नुपर्छ,” उहाँले टिप्पणी गर्नुभयो।
भुक्तानी अभावले अस्पतालमा आउने सर्वसाधारण सेवाग्राहीहरू प्रत्यक्ष रूपमा प्रभावित हुन थालेका छन्। अस्पताल प्रशासनले समस्याको समाधानका लागि तत्कालीन ध्यानाकर्षण गराउँदै स्वास्थ्य बीमा बोर्ड र सरकारलाई गम्भीर पहल गर्न अनुरोध गरेको छ।











