जुम्लाका पाटनमा चट्याङ र प्राकृतिक प्रकोपले भेडापालक किसान संकटमा, करोडौँको क्षति

  • नमस्ते कर्णाली

  • २७, असार २०८२

    जुम्ला।जुम्लाका विभिन्न पाटन क्षेत्रहरूमा हालैको समयमा लगातार चट्याङ, बाढीपहिरो र रोगको प्रकोपले भेडापालन व्यवसायमा गम्भीर संकट उत्पन्न भएको छ। पछिल्ला केही महिनामा मात्रै चट्याङका कारण करिब ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको तथ्यांकले देखाएको छ।

    गत जेठ ४ गते गुठिचौर गाउँपालिका–२ को झुलेनी पाटनमा चट्याङ लाग्दा हिरा बहादुर ऐडीका १६ र धनकृष्ण रोकायाका ६ वटा गरी २२ भेडाबाख्रा मरे। त्यही महिनाको ८ गते तातोपानी–८ टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको यार्सा संकलनकै क्रममा चट्याङ लागेर ज्यान गयो।

    जेठ १६ गते पातारासी गाउँपालिका–२ लम्तेली पाटनमा चुम्मा बुढाका ५ भेडा मरे भने ७ घाइते भए। असार २३ गते गुठिचौर–५ धौलिगाडस्थित ठूलाे हाँका पाटनमा परेको चट्याङले १९७ वटा भेडाबाख्रा मारेको छ। पशु सेवा कार्यालय जुम्लाका अनुसार २५ लाख ७४ हजार रुपैयाँ बराबरको क्षति भएको हो।

    यस घटनामा सिंजा–६ भाडगाउँका ५२ वर्षीय गोठाला धनबहादुर रावत गम्भीर घाइते छन्। उनको उपचार अहिले काठमाडौँस्थित टिचिङ अस्पतालमा भइरहेको छ।

    त्यस्तै, असार १६ गते तातोपानी–८ को राक्से पाटनमा चराइरहेका बेला बाढीपहिरोले २२ वटा भेडा बेपत्ता बनायो भने ४ वटा मृत अवस्थामा फेला परेका छन्। सर्पराज, अमर र लालसिंह रावतको गरी ३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

    पीडित किसानहरू भन्छन् — “भेडा मरेपछि हाम्रो त गाँस, बास र कपास नै खोसियो। हामीसँग अरु आयस्रोत छैन।”

    जुम्ला भेडापालनको पकेट क्षेत्र मानिन्छ। तर, वर्षेनी चट्याङ, रोग र बाढीका कारण भेडापालक किसानहरू संकटमा पर्न थालेका छन्। पानी परेपछि अस्थायी गोठ र रूखमुनी ओत लागेर बस्दा चट्याङले ठूलो क्षति पुर्याउने गरेको किसान गाेविन बुढा बताउँछन्।

    पशु बिमाको चेतनाको अभाव, अनिवार्य बिमाको नीतिको अभाव र क्षतिपछि राहत तथा क्षतिपूर्ति नपाउँदा व्यवसाय थप संकटमा परेको किसान सुरेन्द्र बुढाको भनाइ छ।

    जुम्लामा ८८ हजार ३८८ भेडा र ४३ हजार ३०६ बाख्रा पालिएका छन्। तर, ६९ हजार हेक्टर क्षेत्रफल चरण क्षेत्र भए पनि व्यवस्थित भेडीगोठ र भौतिक संरचनाको अभावले जोखिम बढाएको पशु सेवा कार्यालयका प्रमुख ज्ञानेन्द्रसिंह बुढथापा बताउँछन्।

    कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा जुम्लाका २३० भेडापालक किसानलाई मासिक १ हजार ५ सय रुपैयाँका दरले गोठालो भत्ता दिएको छ। यो कार्यक्रम २०७८/७९ सालदेखि सुरू भएको हो, जसले किसानलाई भेडापालनमा प्रोत्साहन गर्ने र जीवनस्तर सुधार गर्ने उद्देश्य राखेको छ।

    तर, चट्याङलगायत प्राकृतिक प्रकोपबाट जोगाउन गोठहरूको सुधार, चरण क्षेत्रको विस्तार र सुरक्षाका उपायमा अझ प्रभावकारी ध्यान दिन आवश्यक देखिएको छ।

  • २७ असार २०८२, शुक्रबार ०७:२९ प्रकाशित

  • Nabintech