३०, असार २०८२
बर्दिया । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा बरिष्ठ सञ्चारकर्मी कृष्णप्रसाद बस्याल (राकेश)को मोटरसाइकल दुर्घटनामा परि निधन भएको छ। बर्दियाको मधुवन नगरपालिका–८ स्थित गणेशचोक नजिक हुलाकी सडकमा भएको दुर्घटनामा उहाँको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार, भे १३ प ९३६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। मोटरसाइकल चालकले साइकल जोगाउने क्रममा नियन्त्रण गुमाउँदा बस्याल सडकमा खस्नुभएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उहाँलाई प्रारम्भिक उपचारपछि नेपालगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको थियो। उपचारकै क्रममा उहाँको निधन भएको प्रहरी नायव उपरीक्षक चक्रबहादुर डम्मरपालले जानकारी दिनुभयो।
मोटरसाइकल चालक विष्णु पौडेलको भने बर्दिया अस्पतालमा उपचार भइरहेको छ।
दुई कार्यकालसम्म नेपाल पत्रकार महासंघ बर्दियाको अध्यक्ष रहनुभएका बस्याल पछिल्लो समय केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो। बर्दिया र काठमाडौं दुवै स्थानमा पत्रकारिता सक्रिय रहँदै उहाँले रेडियो नेपालसहित विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा महत्वपूर्ण योगदान दिनुभएको थियो।
बस्यालको असामयिक निधनले सञ्चार क्षेत्र शोकमग्न बनेको छ। पत्रकार महासंघ, सहकर्मीहरू र विभिन्न संघसंस्थाले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।