३१, असार २०८२
दाङ । दाङ जिल्लामा छुट्टाछुट्टै दुःखद घटनामा परेर चार जना किशोरको ज्यान गएको छ। तुलसीपुर र घोराहीमा भएका दुई भिन्न घटनाले स्थानिय समुदायलाई शोकमा डुबाएको छ।
तुलसीपुर उपमहानगरपालिकाका दुई किशोर बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गुमाएका छन्। बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै साथीहरूसँग पौडी खेल्न गएका १७ वर्षीय विधान केसी र १६ वर्षीय कुशल बुढामगर नदीमा डुबेर बेपत्ता भएका थिए। हापुरे इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख देव केसीका अनुसार घटनापछि खोजी गरिएका उनीहरूको शव फेला पारिएको छ र परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा राखिएको छ।
यता, मोटरसाइकल दुर्घटनामा परी गढवा गाउँपालिका–८ का १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विकको ज्यान गएको छ। रामपुर–घोराही सडक खण्डअन्तर्गत सिस्नेखोला पुलमा सोमबार साँझ भएको दुर्घटनामा उनीहरू घाइते भएका थिए। उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए।
घोराहीतर्फ जाँदै गरेको रा ७ प ३२७० नम्बरको मोटरसाइकल बेलुका ७ बजेतिर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्रतिष्ठानमा राखिएको छ।
यी दुःखद घटनाहरूले स्थानीयवासीमा स्तब्धता र शोक छाएको छ। प्रहरीद्वारा थप अनुसन्धान जारी रहेको जनाइएको छ।