सकारात्मक सूचना, स्थायित्व र समृद्धिका लागि सञ्चारको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री आचार्य

  • नमस्ते कर्णाली

  • ३२, असार २०८२
    बाँके ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनमानसमा सत्य, तथ्यमा आधारित र सकारात्मक सूचना सम्प्रेषण आजको आवश्यकता भएको बताउनु भएको छ। नेपाल टेलिभिजन कोहलपुरको २९औँ वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सञ्चार क्षेत्रले समाजलाई अराजकतातर्फ होइन, परिवर्तन र समृद्धिको दिशातर्फ डो¥याउने जिम्मेवारी बहन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

    “हामीले सञ्चारलाई चौथो अंगको रूपमा लिएका छौं,” उहाँले भन्नुभयो, “तर आज स्वच्छन्दतावाद फैलाउने प्रवृत्ति देखिन थालेको छ, जसले समाजमा अराजकता र अस्थिरता निम्त्याउन सक्छ।” उहाँले पत्रकारिता जनउत्तरदायी, तथ्यमा आधारित र परिवर्तनमुखी हुनुपर्नेमा जोड दिनुभयो।

    मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सञ्चार क्षेत्रसँग सहकार्यमा विभिन्न कार्यक्रम अगाडि सारेको जानकारी दिनुभयो। तीमध्ये पत्रकारिता कल्याणकारी कोष, सञ्चारकर्मी उपकरण विमा, विद्युत महशुलमा अनुदान, छात्रवृत्ति कार्यक्रमलगायत उल्लेख गर्नुभयो। सञ्चार लोकतन्त्रको मेरुदण्ड मात्र नभई समृद्ध प्रदेश निर्माणको अभियानमा अभिन्न साझेदार भएको उल्लेख गर्दै उहाँले सञ्चारमाध्यमले जनविश्वास र सुशासन सुदृढ गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालले एनटिभीलाई सञ्चार क्षेत्रको ‘ब्राण्ड’ को रूपमा चित्रित गर्दै आगामी वर्षको बजेट दोब्बर बनाइएको जानकारी दिनुभयो।

    कार्यक्रम सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्रीहरू दुर्गाप्रसाद चौधरी, रत्न खत्री, भण्डारीलाल अहिर, सञ्जु चौधरी, अम्बिका काफ्ले, मिनाकुमारी श्रेष्ठ, कोहलपुर नगर प्रमुख पूर्ण आचार्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंलगायतको उपस्थिति थियो।

    एनटिभी कोहलपुरका प्रमुख निराजन खनालले स्वागत मन्तव्य दिँदै संस्थाको योगदान र यात्राबारे प्रकाश पार्नुभयो भने कार्यक्रमको सहजीकरण पत्रकार पुरुषोत्तम सापकोटाले गर्नुभएको थियो। कार्यक्रममा उत्कृष्ट कर्मचारी, विज्ञापनदाता र कार्यक्रम सञ्चालकलाई सम्मान गरिएको थियो।

     

  • १ श्रावण २०८२, बुधबार १३:४१ प्रकाशित

  • Nabintech