१, साउन २०८२
बाँके ।नेपालगन्ज उपमहानगरपालिकाले आगामी वर्षलाई लक्षित गर्दै आठ बुँदे साझा प्रतिबद्धताको घोषणा गरेको छ। असार ३१ गते बास नेपालको सहजीकरणमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीहरूका प्रश्न, सुझाव तथा गुनासाहरूका आधारमा उपमहानगरपालिकाले स्पष्ट योजना र प्रतिबद्धता सार्वजनिक गरेको हो।
प्रमुख प्रतिबद्धताहरूमा बहिरा अपाङ्गता भएका व्यक्तिहरूका लागि दुभाषे सेवा उपलब्ध गराउने, कृष्णसार एफ.एम.तर्फ जाने बाटो निर्माण, नगरका नाला सफा गरी डुवानमुक्त बनाउने, गणेशमान चोकदेखि औद्योगिक क्षेत्रसम्मको सडक सौन्दर्यीकरण गर्ने, असारे विकासका कामहरूलाई व्यवस्थित गर्न श्रावणदेखि नै कार्यान्वयन योजना सार्वजनिक गर्ने, कृषकहरूको लागि तीन वर्षे योजना पेश गरेमा २५% कर छुट दिने, बालमैत्री उपमहानगर घोषणा गर्ने, सिसी क्यामेरा जडान, सडकबत्ती जडान र मर्मत तथा उपमहानगरको लिफ्ट संचालन गर्ने जस्ता विषयहरू समेटिएका छन्।
२३० जना नगरवासीको उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूले नगरभित्रको बाटो, नाली, सडकबत्ती, बालश्रम, लागुऔषध नियन्त्रण, मुस्लिम महिलाहरू लक्षित कार्यक्रम, पर्यटन प्रवर्द्धन, जडीबुटी खेती, सौन्दर्यीकरण, वडाको सीमा समस्यालगायत बहुपक्षीय विषयहरूमा प्रश्न र सुझाव राखेका थिए।
उठेका सवालहरूको जवाफ उप–महानगरका प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा, वडा अध्यक्षहरू, महाशाखा तथा शाखा प्रमुखहरूले दिएका थिए। कार्यक्रममा नगरका समस्या तथा सम्भावनाबारे सार्वजनिक छलफलले पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक शासनप्रति आशा बढाएको सहभागीहरूको धारणा थियो।
उपमहानगरको यो सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय सरकार र नागरिकबीचको दूरी घटाउने मात्र होइन, योजनाबद्ध र समयमै काम सम्पन्न गर्ने विश्वास समेत जगाएको छ।