३, साउन २०८२
मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी नजिकै अवस्थित काँजथला (बाँजथला) हरियाली पार्क पछिल्लो समय आन्तरिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। स्थानीय बासिन्दा, सरकारी कर्मचारी, विद्यार्थी र युवा–युवतीको मुख्य रमणीय स्थलको रूपमा परिचित बाँजथलाबाट चंखेली हिमाल, थार्प मष्टा देवता, मालिकी, कर्णाली नदी र गमगढी खोलाको संगमस्थल त्रिवेणीधामजस्ता धार्मिक र प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ।
साउने सङ्क्रान्तिको अवसरमा बाँजथलामा स्थानीय महिलाहरूले पारम्परिक देउडा नाच–गान प्रस्तुत गर्दै हराउँदै गएको सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा सक्रिय सहभागिता जनाएका छन्। माझपातल सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा भएको कार्यक्रममा छायाँनाथ रारा नगरपालिकाका सबै १४ वडाबाट उल्लेखनीय महिला सहभागिता देखिएको थियो।
कार्यक्रमको मुख्य आकर्षण पुरुष र महिलाको संयुक्त देउडा नृत्य तथा गायन रह्यो, जसले पुराना सांस्कृतिक मूल्यहरूलाई नयाँ पुस्तामा पुनः उजागर गर्यो। सहभागीहरू परम्परागत पोशाकमा सजिएर देउडा गाएर मनोरञ्जन लिनुका साथै सांस्कृतिक चेतनाको सन्देश समेत फैलाएका थिए।
गमगढी बजारभन्दा माथिल्लो भागमा अवस्थित बाँजथलाले दृश्यावलोकन, शान्त वातावरण र धार्मिक महत्वका कारण पर्यटकीय मूल्य झनै बढाइरहेको वडाध्यक्ष परेकराज चौलागाईंले बताए।
उहाँले भन्नुभयो, “बाँजथलालाई व्यवस्थित पर्यटनस्थलका रूपमा विकास गर्न सबै तहका सरकारको सहयोग पाइरहेका छौँ। यसले स्थानीय रोजगारी सिर्जना गर्दै समृद्धिको बाटो खोल्ने विश्वास लिएका छौँ।”
बाँजथलाको प्रवर्द्धनमा समाजसेवी ऐनबहादुर हमाल, माझपातल सामुदायिक वन अध्यक्ष नवराज चौलागाईं र वडा अध्यक्ष चौलागाईंको विशेष पहल रहेको स्थानीयहरू बताउँछन्।
स्थानीय बासिन्दा सुकित्रा रावलले देउडा जस्ता सांस्कृतिक कार्यक्रमले बाँजथलाको महत्व अझ बढाएको बताउँदै भनिन्, “हामीले हाम्रो संस्कृति बचाउँदै पर्यटनसँग जोड्न सफल भएका छौँ।”
आयोजक समितिका अनुसार यस्ता कार्यक्रमले हराउँदै गएका संस्कृति संरक्षण गर्नुका साथै बाँजथलाको पर्यटन सम्भावनालाई उजागर गर्दै भविष्यमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षणको प्रमुख थलो बनाउने लक्ष्य राखिएको छ। साथसाथै स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना गर्ने दीर्घकालीन योजना रहेको पनि समितिको भनाइ छ।