बाँके प्रहरीद्वारा एक वर्षमा ६३९ फरार प्रतिवादी पक्राउ, करोडौंको अवैध कारोबार नियन्त्रण

  • नमस्ते कर्णाली

  • ८, असार २०८२
    बाँके । बाँके जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा उल्लेखनीय सफलता हासिल गरेको छ। विभिन्न अपराधमा संलग्न रही फरार रहेका ६ सय ३९ जना प्रतिवादीलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेर न्यायिक प्रक्रिया अघि बढाएको छ। उनीहरूबाट १ सय ८९ वर्ष ८ महिना १ दिनको कैद सजाय र २ करोड १८ लाख ३५ हजार ६ सय ३२ रुपैयाँ जरिवाना असुल गरिएको छ।

    बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार सो अवधिमा ४ करोड ३ लाखभन्दा बढीको भन्सार छलीका सामान बरामद गरिए, जसमा ६ वटा जीप–कार, १० वटा मोटरसाइकल र २१ जना संलग्न व्यक्ति पक्राउ परेका छन्।

    साथै, प्रतिबन्धित ५ सय दरका ६५० थान र २ सय दरका ३१६ थान भारतीय नोटसहित ३ लाख ८८ हजार २ सय भारतीय रुपैयाँ (नेपाली रूपैयाँमा झण्डै ६ लाख २१ हजार) बरामद गरी राजश्व अनुसन्धान कार्यालय कोहलपुर बुझाइएको हो।

    भारतबाट अवैध रूपमा ल्याइएका करिब १३ लाख ५१ हजार रुपैयाँ बराबरका कुखुरा, मासु र चल्ला बरामद गरी पशु क्वारेन्टाइन कार्यालयमार्फत कारबाही गरिएको छ। अवैध नदीजन्य पदार्थ उत्खननमा संलग्न १ जेसिबी, १० टिपर र १४ ट्र्याक्टर नियन्त्रणमा लिई १ लाख ८७ हजार रुपैयाँ जरिवाना गरिएको प्रहरी कार्यालयले जनाएको छ।

    ट्राफिक कारबाहीमा पनि बाँके प्रहरीले सशक्त उपस्थिति देखाएको छ। एक वर्षमा ३७ हजार ४३५ वटा सवारीसाधनलाई कारबाही गरी ३ करोड २ लाख ६४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको हो।

    अपराध अनुसन्धानमा १४८६ मुद्दा दर्ता भई १४५० जना पक्राउ परेका छन्। ठाडो उजुरी ६४१२ मध्ये ५७३४ वटा फछ्र्यौट गरिँदा ९७८ उजुरी प्रक्रिया अन्तर्गत छन्। लागुऔषध नियन्त्रणमा २९८ जनालाई ३ किलो ४ ग्राम ब्राउन सुगर, ८ किलो चरेश, सय किलोभन्दा बढी गाँजा र सयौं नशालु ट्याब्लेटसहित पक्राउ गरिएको छ।

    हराएका ४० मोटरसाइकल, एक स्कुटर र साइकलसहित ११६ मोबाइल फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाइएको छ। हुण्डी र अवैध सुनचाँदी कारोबारमा ४ जना सुनसहित, ७ जना हुण्डीसहित पक्राउ परेका छन्।

    जघन्य अपराधतर्फ बालिकामाथि सामूहिक बलात्कार, खुकुरी प्रहार, फिरौती, बैंक ठगी र हत्या जस्ता मुद्दामा संलग्न ३० भन्दा बढी आरोपी पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ।

    महिला, बालबालिका र जेष्ठ नागरिक सम्बन्धी मुद्दामा ५५५ हराएका व्यक्तिमध्ये ५१४ फेला पारेर परिवारमा बुझाइएको छ भने ९४ जनालाई संरक्षण संस्थामा पठाइएको छ। साथै, सीमा क्षेत्रमा ९०७ जनाको उद्दार गरिएको छ।

    समुदाय–प्रहरी सहकार्य अन्तर्गत १००० भन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ भने आन्तरिक सुदृढीकरण, तालिम, कार्यालय मर्मत तथा पूर्वप्रहरीको गुनासो सम्बोधनमा समेत बाँके प्रहरीले प्रभावकारी काम गरेको छ।

    उत्कृष्ट कार्य प्रदर्शनका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरलाई “सर्वोत्कृष्ट इलाका प्रहरी कार्यालय” घोषणा गर्दै प्रहरी महानिरीक्षकबाट प्रमाणपत्र प्रदान गरिएको छ।

    बाँके प्रहरीले एक वर्षमा देखाएको प्रतिबद्धता, सशक्त कार्यशैली र निष्पक्ष कानुनी कार्यवाहीले जिल्लामा शान्ति, सुरक्षा र विधिको शासन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको छ।

     

  • ९ श्रावण २०८२, बिहीबार ०९:१७ प्रकाशित

  • Nabintech