९, साउन २०८२
बाँके ।बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद सूर्य ढकालले आसन्न भारत भ्रमणलाई राष्ट्रिय तथा स्थानीय हितका मुद्दा समेटेर उपयोग गर्न सरकारसँग आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको भारत भ्रमण निकट भविष्यमा तय हुँदै गरेको सन्दर्भमा भ्रमणको पूर्ण सफलताको शुभकामना दिँदै, सो अवसरलाई परिणाममुखी र जनतामुखी बनाउनुपर्ने धारणा राखे।
सांसद ढकालले नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, धार्मिक, भौगोलिक तथा आर्थिक पक्षबाट अत्यन्तै गहिरो, जटिल र महत्वपूर्ण रहेको उल्लेख गर्दै, यस्तो आत्मीय सम्बन्ध हुँदाहुँदै पनि नेपाली जनता विभिन्न समस्याबाट पीडित रहेको भन्दै चिन्ता व्यक्त गरे। उनले प्रधानमन्त्रीको भ्रमणका क्रममा विशेष रूपमा बाँके क्षेत्रसँग जोडिएका तीन महत्वपूर्ण विषयहरू — नेपालगञ्ज–दिल्ली हवाई उडानको अनुमति, नेपालगञ्ज भन्सारलाई सुक्खा बन्दरगाहको रूपमा विस्तार तथा सञ्चालन, र राप्ती सोनारी गाउँपालिकाको कुसुमदेखि गङ्गापुरसम्मको राप्ती नदी तटबन्धन — भारतसँगको छलफलको प्रमुख एजेन्डा बनाइनुपर्ने माग गरे।
ढकालले नेपाल–भारत सम्बन्धलाई “रोटी–बेटीको सम्बन्ध” को रूपमा परिभाषित गर्दै जनस्तरमा गहिरो आत्मीयता रहेको बताए। उनले १९४७ पछि सुरु भएको औपचारिक कूटनीतिक सम्बन्ध र १९५० को शान्ति तथा मैत्री सन्धिले दुई देशबीच खुला सिमाना, आवागमन, सुरक्षा र व्यापारका ढोका खोलेको स्मरण गराए। तर पछिल्ला वर्षहरूमा भारतले नेपालप्रति स्थिरता र समृद्धिको चाहना नदेखाएको, र हस्तक्षेप गर्ने प्रवृत्ति बढेको जनगुनासोसमेत उनले उठाए।
कालापानी, लिपुलेक र लिम्पियाधुराजस्ता सीमा विवादले द्विपक्षीय सम्बन्धमा तनाव सिर्जना गरिरहेको उल्लेख गर्दै ढकालले समाधानको मार्ग संवादमै रहेकोमा जोड दिए। उनले नेपालका लागि भारत प्रमुख व्यापार साझेदार रहेकाले, पारस्परिक सम्मान र समझदारीका आधारमा सम्बन्धलाई अझ सन्तुलित बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याए।
अन्त्यमा सांसद ढकालले भारत भ्रमणलाई रणनीतिक दृष्टिले पनि महत्वपूर्ण अवसरको रूपमा लिएर सरकारलाई राष्ट्रिय हितका विषय मात्र होइन, सीमावर्ती क्षेत्रका जनताको अपेक्षा सम्बोधन गर्ने खालको कार्यसूचीसहित अगाडि बढ्न सभामुखमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।