सुशासन र मीतव्ययिताको उदाहरण बन्नुपर्नेमा मुख्यमन्त्री आचार्यको जोड

  • नमस्ते कर्णाली

  • ९, साउन २०८२
    दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारलाई सुशासन, पारदर्शिता र मीतव्ययिताको उदाहरण बनाउनु आवश्यक रहेको बताउनु भएको छ । उहाँले सुशासन प्रवर्द्धन गर्ने रणनीतिक योजना कार्यान्वयनको प्रभावकारिता मूल्यांकन गर्नुपर्नेमा जोड दिनु भएको हाे ।

    मुख्यमन्त्री आचार्यले मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति तथा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा कार्यक्रमलाई बिहिवार राप्ती उपत्यका(देउखुरी)मा सम्बोधन गर्दै निर्णय र नीतिहरूको पालना भएको छ कि छैन भन्नेबारे गहिरो खोजबिन र मूल्यांकन गर्नुपर्ने बताउनु भएको छ । `धेरै निर्णय भएका छन्, तर ती निर्णय कार्यान्वयनमा कति पुगे भन्ने कुरामा ध्यान दिनुपर्छ,´ उहाँले भन्नुभयाे, `निर्णय मात्र गरेर हुँदैन, तिनको अक्षरशः कार्यान्वयन हुनुपर्छ ।´

    उहाँले प्रदेश सरकारले बनाएका कानुनहरू आवश्यकता अनुसार संशोधन गर्दै सुधार गरिनुपर्ने आवश्यकता औँल्याउनु भयाे ।

    मुख्यमन्त्री आचार्यले तालिम कार्यक्रमहरू धेरै सञ्चालन भए पनि त्यसको उपलब्धिको अडिट गर्न आवश्यक रहेको बताउनु भयाे । `कर्मचारी र जनप्रतिनिधिहरूलाई धेरै तालिम दिइएका छन् । तर ती तालिमको प्रभाव के भयो ? यसको मूल्यांकन जरुरी छ,´उहाँले भन्नुभयाे ।

    कार्यक्रममा प्रमुख सचिव बावुराम अधिकारीले विगतका सिकाइलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयाे । `मुख्यमन्त्रीको कार्यालय नै उदाहरणीय रोल मोडेल बन्नुपर्छ,´ उहाँले भन्नुभयाे । साथै, प्रदेश र निजामती सेवा कार्यान्वयनमा जाँदा जिम्मेवारी झनै बढेको पनि उहाँले स्पष्ट पार्नु भयाे ।

    मुख्यमन्त्री कार्यालयका सचिव इश्वरराज पौडेलले प्रशासनिक संरचना तथा सुशासन र भ्रष्टाचारविरुद्धको रणनीतिक योजना कार्यान्वयनका लागि विशेष कार्यक्रम बनाउनुपर्ने धारणा राख्नु भयाे । उहाँले समग्र सुशासन र विकास निर्माणको क्षेत्रमा समन्वयात्मक भूमिकाको आवश्यकता औँल्याउनु भयाे ।

    मुख्यमन्त्री कार्यालयका अर्का सचिव कविन्द्र नेपालले प्रदेश सरकार मातहत रहेका २०५ निकाय तथा कार्यालयका कार्यक्रमहरूको प्रभावकारिता सुनिश्चित गर्न समन्वय र निगरानी बलियो हुनुपर्नेमा जोड दिनुभयाे ।

    कार्यक्रममा प्रदेश सुशासन केन्द्र, प्रदेश पूर्वाधार विकास प्राधिकरण लगायतका निकायहरूले आर्थिक वर्ष २०८१/०८२ मा प्राप्त गरेका उपलब्धिहरूको विवरण प्रस्तुत गरेका थिए ।

  • १० श्रावण २०८२, शुक्रबार ०७:५५ प्रकाशित

  • Nabintech