बारबर्दिया नगर अस्पतालमा ब्लड ट्रान्फ्युजन सेवा सुरु, सिकलसेल र थालेसिमिया पीडितलाई ठूलो राहत

  • नमस्ते कर्णाली

  • १२, साउन २०८२
    बर्दिया । बारबर्दिया नगरपालिकामा रहेको नगर अस्पतालमा आइतवारदेखि ब्लड ट्रान्फ्युजन (रगत चढाउने) सेवा औपचारिक रूपमा सुरु भएको छ। यससँगै लामो समयदेखि रक्तचाप तथा सिकलसेल, थालेसिमियाका बिरामीले भोग्दै आएको सास्तीमा केही हदसम्म सहजता आएको छ।

    सिकलसेल नगर समिति बारबर्दियाका अध्यक्ष दिपक थारुका अनुसार, नगर अस्पतालमा हालसम्म रक्तसंचार केन्द्रमार्फत रगत संकलन गरिए पनि ट्रान्फ्युजन सेवा नहुँदा बिरामीलाई नेपालगञ्ज वा कोहलपुर लैजानुपर्ने बाध्यता थियो। अब भने सो सेवा अस्पतालमै सुरु भएपछि बिरामी र परिवारजनलाई राहत मिलेको छ।

    रक्त चढाउने सेवाको सुभारम्भ नगर प्रमुख छविलाल थारुले नगर अस्पतालमा कार्यरत नर्स सरिता राजीलाई रगतको पोका हस्तान्तरण गरेर गर्नुभयो। सो अवसरमा बारबर्दिया नगरपालिका उद्यम विकास शाखा प्रमुख पार्वती गौडेलले जोगिगाउँ–२ का थालेसिमियाका बिरामी विकास थारुलाई ओ पोजेटिभ रगत दान गर्नुभएको थियो।

    नगर अस्पतालमा रहेको रक्तसंचार केन्द्रमा यसअघि तीनपटक वृहत्त रक्तदान कार्यक्रम सम्पन्न भइसकेको छ। संकलित रगत हालसम्म नेपालगञ्ज वा कोहलपुरबाट बिरामीको आवश्यकतानुसार ल्याउने गरिन्थ्यो। तर ट्रान्फ्युजन सेवा सन्चालनसँगै अब सोझै नगर अस्पतालमै रगत चढाउन सकिने भएको छ।

    नगर प्रमुख थारुले सिकलसेल तथा थालेसिमिया जस्ता दीर्घरोगीहरूलाई मध्यनजर गर्दै सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो। कार्यक्रममा नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तिर्थराज पौडेल, मेसु डा. माधव पन्त, डा. सुधिर केसी, डा. जितेन्द्र यादव, र रक्तसंचार केन्द्रका प्राविधिक अंकक्ष चौधरीको उपस्थिति रहेको थियो।

    ब्लड ट्रान्फ्युजन सेवा सुरु भएसँगै बारबर्दिया नगरवासी बिरामीलाई समय, खर्च र जोखिम कम हुँदै गएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

     

     

  • १३ श्रावण २०८२, सोमबार ०८:३७ प्रकाशित

  • Nabintech