पर्यटकीय गन्तव्य घोषित गिद्धे डाँडा सात वर्षदेखि ओझेलमा, बजेट अभावले पूर्वाधार विकास ठप्प

  • नमस्ते कर्णाली

  • १८, पुस २०८२
    सुर्खेत । संघीय सरकारले आर्थिक वर्ष २०७५/०७६ मा देशभरका पर्यटकीय सम्भावना बोकेका एक सय स्थानको सूची सार्वजनिक गर्दै पर्यटन प्रवद्र्धनमार्फत स्थानीय आयस्तर सुधार र राष्ट्रिय अर्थतन्त्र सबल बनाउने महत्त्वकांक्षी योजना अघि सारेको थियो । प्राकृतिक, पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण स्थलको विकास गर्ने लक्ष्यसहित ५० करोड रुपैयाँ बजेटसमेत विनियोजन गरिएको थियो । यही सूचीमा परेको सुर्खेतको भेरीगंगा नगरपालिका–५, हात्तिखालस्थित गिद्धे डाँडा भने योजना कार्यान्वयनमा आएको झण्डै सात वर्ष बितिसक्दा पनि आवश्यक पर्यटन पूर्वाधारको अभाव झेल्दै आएको छ ।


    संघीय सरकारले गिद्धे डाँडामा पर्यटन पूर्वाधार विकासका लागि आर्थिक वर्ष २०७५/०७६ मा ५० लाख र ०७६/०७७ मा ५० लाख गरी एक करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त बजेटबाट गिद्धे डाँडासम्म पुग्ने ९४५ वटा सिढीसहितको पदमार्ग, सिद्धबाबाको मन्दिर, पर्यटकका लागि धर्मशाला र प्रतिक्षालय निर्माण गरियो । तर त्यसयता संघ र प्रदेश सरकारबाट थप बजेट विनियोजन नहुँदा विकास कार्य ठप्प भएको छ ।
    भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालका अनुसार गिद्धे डाँडामा लोपोन्मुख गिद्ध प्रजातिको बासस्थान भएकै कारण यसको नाम गिद्धे डाँडा राखिएको हो । चुरे क्षेत्रको मध्यभागमा अवस्थित यो डाँडाबाट उत्तरतर्फ हिमश्रृंखला र दक्षिणतर्फ तराई क्षेत्र एकैपटक अवलोकन गर्न सकिने दुर्लभ प्राकृतिक विशेषता रहेको उनी बताउँछन् ।
    “यहाँबाट दाङ, बाँके, बर्दिया लगायतका तराई क्षेत्रसँगै हिमालको दृश्य अवलोकन गर्न सकिन्छ,” नगर प्रमुख ढकालले भने, “सिद्धबाबाको मन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास पनि छ ।”
    गिद्धे डाँडाबाट राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन आयोजनाको बाँधस्थलदेखि विद्युत गृहसम्मको अवलोकन गर्न सकिन्छ । तर संघीय सरकारले पर्यटकीय गन्तव्य घोषणा गरे पनि पूर्वाधार विकासमा निरन्तरता नदिँदा सम्भावनायुक्त स्थल ओझेलमा परेको ढकालको गुनासो छ । भूगोलका कारण नगरपालिकाको बजेटले मात्र पर्याप्त पूर्वाधार निर्माण सम्भव नभएकाले प्रदेश र संघ सरकारसँग पटक–पटक बजेट माग गरिएको उनले बताए ।
    गिद्धे डाँडासम्म पुग्न छिन्चुदेखि लेखहात्तिखाल जोड्ने सडक स्तरोन्नतिका लागि प्रयास भए पनि बजेट अभावले काम अघि बढ्न सकेको छैन । नगरपालिका, प्रदेश र संघ सरकारको संयुक्त लगानीमा अघि बढेको छिन्चु–लेखहात्तिखाल सडक स्तरोन्नति कार्य २३–२४ भदौको जेन–जी आन्दोलनपछि संघीय सरकारले बजेट कटौती गर्दा रोकिएको नगर प्रमुख ढकालले जानकारी दिए । खर्च कटौतीका नाममा विनियोजित ६ करोड रुपैयाँ रोकिएपछि सडक अलपत्र परेको हो ।
    गिद्धे डाँडामा विविध हावापानी, गर्मी र चिसो दुवैमा हुर्कने वनस्पति, रसायनिक विषादीरहित अर्गानिक भिलेजको सम्भावना र लोपोन्मुख गिद्धको बासस्थान रहेको छ । भेरीगंगा नगरपालिका–५ का वडाध्यक्ष प्रेमबहादुर सारु मगरले संरक्षणको अभावमा पछिल्लो समय गिद्धको संख्या घट्दै गएको बताए ।
    “स्थानीय सरकारले पहल गरे पनि प्रदेश र संघ सरकारबाट अपेक्षित सहयोग नपाउँदा समस्या छ,” उनले भने, “गिद्ध संरक्षण र पर्यटन विकास दुवैका लागि ठूलो बजेट आवश्यक छ ।”
    स्थानीयवासीले गिद्धे डाँडालाई दैविक शक्तिको प्रतीकका रूपमा लिने गरेका छन् । स्थानीय पूर्णिमा केसीका अनुसार रोपाइँका समयमा पानी नपरे सिद्धबाबाको मन्दिरमा पूजा गरेपछि पानी पर्ने जनविश्वास छ । तर सडक अभावका कारण स्थानीयले दैनिक जीवनमै सास्ती भोग्नुपरेको उनको गुनासो छ ।
    “लेखहात्तिखालसम्म बाह्रै महिना सञ्चालन हुने सडक भए कृषि उपजले बजार पाउँथ्यो,” उनले भनिन्, “वीरेन्द्रनगर नजिकै हुँदाहुँदै पनि यहाँ घुम्न आउने पर्यटक बढ्न सकेका छैनन् ।” सडक नहुँदा बिरामीलाई अस्पताल लैजानसमेत कठिनाइ हुने र कृषि तथा पशुपालनको सम्भावना हुँदाहुँदै बजार अभाव खेप्नुपरेको स्थानीयको भनाइ छ ।
    गिद्धे डाँडा घोषणा पत्र जारी
    यसैबीच नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले गिद्धे डाँडा घोषणा पत्र जारी गरेको छ । महासंघको आयोजना तथा भेरीगंगा नगरपालिकाको समन्वयमा भेरीगंगा–५, गिद्धे डाँडामा सम्पन्न अन्तरक्रिया कार्यक्रमबाट पाँच बुँदे घोषणा पत्र सार्वजनिक गरिएको हो ।
    घोषणा पत्रमार्फत महासंघले भेरीगंगा नगरपालिकालाई यसै वर्षको हिउँदेसभाबाट सञ्चार कानुन निर्माण गर्न ध्यानाकर्षण गराएको छ । साथै संघीय सरकारले छनोट गरेका एक सय पर्यटकीय गन्तव्यभित्र परेको गिद्धे डाँडा जान कालीदमारदेखि लेखहात्तिखालसम्मको सडक शीघ्र स्तरोन्नति गर्न, गिद्धे डाँडामा खानेपानी र विद्युतजस्ता आधारभूत पूर्वाधारको व्यवस्था गर्न तथा सिद्धबाबा मन्दिर र निर्माणाधीन धर्मशालालाई पूर्णता दिन तीनै तहका सरकारसँग आग्रह गरिएको छ ।

    त्यसैगरी, पर्यटक सुविधासँगै स्थानीय समुदायलाई पर्यटनमार्फत आयआर्जनमा जोड्न लेखहात्तिखालमा होमस्टे सञ्चालन कार्यक्रम अघि बढाउन, हर्रेबाट गिद्धे डाँडासम्म पैदल मार्ग (ट्रेकिङ रुट) विकास गर्न र गिद्धको बासस्थान संरक्षणका लागि बर्दिया राष्ट्रिय निकुञ्जसहित सम्बन्धित निकायलाई गम्भीर बन्न महासंघले आग्रह गरेको छ ।

  • १८ पुष २०८२, शुक्रबार १२:०६ प्रकाशित

  • Nabintech