१९, पुस २०८२
सल्यान ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाह प्रतिनिधिसभा निर्वाचनका लागि सल्यानबाट एकल उम्मेदवारका रूपमा सिफारिस भएका छन् । शुक्रबार सदरमुकाम खलंगामा सम्पन्न एमाले सल्यानको आठौँ पूर्ण बैठकले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि शाहलाई उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
शाहको योग्यता, अनुभव तथा कर्णाली प्रदेशमा पार्टी नेतृत्व गर्दै देशको राजनीतिक क्षेत्रमा खेलेको प्रभावकारी भूमिकालाई ध्यानमा राख्दै जिल्ला कमिटीको पूर्ण बैठकले सर्वसम्मत रूपमा एकल सिफारिस गरेको एमाले सल्यानका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिए ।
बैठकले भर्खरै सम्पन्न पार्टीको एघारौँ महाधिवेशनको सन्देश जनस्तरसम्म पुर्याउने उद्देश्यले जिल्लाका दशवटै स्थानीय तहमा सन्देशसभा तथा पार्टीको विस्तारित बैठक आयोजना गर्ने निर्णयसमेत गरेको छ।
निर्णयअनुसार पुस १९ गते बनगाड कुपिण्डे नगरपालिकामा, पुस २४ गते सिद्धकुमाख गाउँपालिकामा, पुस २५ गते त्रिवेणी गाउँपालिकामा, पुस २६ गते शारदा नगरपालिकामा, पुस २७ गते छत्रेश्वरी गाउँपालिकामा, पुस २८ गते कुमाख गाउँपालिकामा, पुस २९ गते दार्मा गाउँपालिकामा, पुस ३० गते बागचौर नगरपालिकामा, माघ २ गते कालिमाटी गाउँपालिकामा तथा माघ ३ गते रकपुरकोट गाउँपालिकामा सभा तथा पार्टीको विस्तारित बैठक आयोजना गरिने भएको छ।
यससम्बन्धी जानकारी एमाले सल्यानका उपसचिव तथा प्रचार विभाग प्रमुख गणेशमान सिंहले दिएका हुन्।











