तीन जिल्लामा एमालेले टुङ्गो लगायो प्रतिनिधिसभाका उम्मेदवार

  • नमस्ते कर्णाली

  • २१, पुस २०८२

    सुर्खेत ।नेकपा एमालेले कर्णालीका तीन जिल्लाबाट आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । कर्णालीका १० जिल्लामा प्रतिनिधिसभातर्फ १२ निर्वाचन क्षेत्र छन् ।

    पार्टी केन्द्रको निर्देशन बमोजिम कर्णालीका १० मध्ये तीन जिल्ला सुर्खेत, सल्यान र जुम्लाबाट सर्वसम्वत उम्मेदवार छानिएका हुन् । जसमा सुर्खेतबाट धु्रवकुमार शाही, कुलमणी देवकोटा, सल्यानबाट गुलावजंग शाह र जुम्लाबाट शान्तिलाल महत सर्वसम्वत उम्मेदवार चयन भएका हुन् ।

    दुई निर्वाचन क्षेत्र रहेको सुर्खेत–१ बाट शाही र २ बाट देवकोटा प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका हुन् । २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका शाही २०७९ मा पनि एमालेबाट उम्मेदवार बनेका थिए । तर, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासँग शाही पराजित बनेका थिए ।

    शाही अहिले एमाले कर्णाली प्रदेश कमिटीको सचिव छन् । पहिलो पटक संसदीय चुनावको अभ्यासमा होमिन लागेका देवकोटा एमाले सुर्खेत जिल्ला अध्यक्ष हुन् । यस्तै, सल्यानबाट एकल सिफारिस भएका शाह २०७४ मा कर्णाली प्रदेशसभामा निर्वाचित भएका थिए ।

    त्यस्तै, २०७९ को निर्वाचनमा पनि प्रदेशतर्फ उम्मेदवार रहेका शाह नेपाली कांग्रेस र तत्कालिन नेकपा माओवादी केन्द्र मिलेर बनेको गठवन्धनका उम्मेदवारसँग पराजित भएका थिए । उनी हाल नेकपा एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष छन् ।

    त्यस्तै, जुम्लाबाट उम्मेवार सिफारिस भएका महत एमाले जुम्ला जिल्ला अध्यक्ष हुन् । दैलेखबाट आगामी निर्वाचनका लागि सात जनाको नाम सिफारिस भएको छ । दुई निर्वाचन क्षेत्र रहेको दैलखमा १ बाट तीन र २ बाट चार जनाको नाम सिफारिस भएको छ । आकांक्षी धेरै भएर सर्वसम्वतीको प्रयास असफल भएपछि टिकट दिने जिम्मेवारी पार्टी केन्द्रलाई दिइएको हो ।

    दैलेख क्षेत्र नम्बर १ बाट रविन्द्रराज शर्मा, तेजबहादुर चन्द, रत्नबहादुर खड्का र सुनिता बिसीको नाम सिफारिस भएको छ । शर्मा यसअघि २०७४ मा प्रतिनिधिसभामा विजयी भइसकेको व्यक्ति हुन् । २०७९ मा पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका शर्मा तत्कालिन एमाले विभाजनपछि बनेको नेकपा एकिकृत समाजवादीका अम्बरबहादुर थापासँग पराजित भएका थिए । यस्तै, चन्द दैलेखी कम्यूनिष्ट आन्दोलनमा ठुलो योगदान पुर्‍याएका व्यक्ति हुन्, भने खड्का नारायण नगरपालिका दैलेखका पूर्वमेयरसमेत हुन् ।

    यस्तै, दैलेख क्षेत्र नम्बर २ बाट तीन जनाको नाम सिफारिस भएको छ । जसमा विष्णु रिजाल, लक्ष्मीप्रसाद पोखरेल र अम्बिका बोहरा छन् । एमालेको केन्द्रीय राजनीतिमा पकड जमाउने रिजाल पहिलो पटक संसदीय निर्वाचनमा होमिन लागेका व्यक्ति हुन भने पोखरेल २०७० मा सम्पन्न दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

  • २१ पुष २०८२, सोमबार १२:१६ प्रकाशित

  • Nabintech