२२,पुस २०८२
बाँके ।मोबाइल फोन, सामाजिक सञ्जाल र इन्टरनेट आजका विद्यार्थीको दैनिकीको अभिन्न हिस्सा बन्दै गएका छन् । पढाइ, सूचना आदान–प्रदान र मनोरञ्जनका लागि प्रविधि अत्यन्त उपयोगी बनेको भए पनि यसको गलत प्रयोगले समाजमा नयाँ–नयाँ समस्या जन्माइरहेको छ । साइबर अपराध, अनलाइन ठगी, सामाजिक सञ्जालमार्फत चरित्र हत्या, डिजिटल दुर्व्यवहारजस्ता गम्भीर विषयले पछिल्लो समय अभिभावक, विद्यालय र स्थानीय सरकारलाई समेत चिन्तित बनाएको छ ।
यही यथार्थलाई मनन गर्दै बाँकेको जानकी गाउँपालिकाले विद्यार्थीहरूलाई लक्षित गरी साइबर अपराध र साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
गाउँपालिकाको आयोजनामा सुरु भएको उक्त कार्यक्रममा जानकी गाउँपालिकाभित्रका ८ वटा माध्यमिक विद्यालयमा अध्ययनरत करिब ४० जना विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा अनलाइनमार्फत हुने ठगीका विभिन्न स्वरूप, सामाजिक सञ्जालको दुरुपयोग, साइबर अपराधका कारण, त्यसका सामाजिक तथा मानसिक असर र त्यस्ता अपराधबाट जोगिन अपनाउनुपर्ने व्यवहारिक उपायबारे विस्तृत जानकारी दिइएको छ । विद्यार्थीहरूलाई डिजिटल संसारमा सुरक्षित रहन सक्ने सीप प्रदान गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले प्रविधिको सही प्रयोग आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले विद्यार्थीहरू डिजिटल प्रविधिका सबैभन्दा सक्रिय प्रयोगकर्ता भएकाले उनीहरू सचेत र जिम्मेवार बने समाज स्वतः सुरक्षित र सकारात्मक बन्न सक्ने धारणा राख्नुभयो । “प्रविधि आफैंमा न राम्रो हो, न नराम्रो । प्रयोग गर्ने व्यक्ति कति सचेत छ भन्ने कुराले यसको प्रभाव निर्धारण गर्छ,” अध्यक्ष खाँले भन्नुभयो । उहाँले अभिभावक, शिक्षक र स्थानीय तहले संयुक्त रूपमा बालबालिकालाई डिजिटल संस्कार सिकाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले जानकी गाउँपालिकाको समृद्धि, सुशासन र सामाजिक सद्भाव कायम गर्न विद्यार्थीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो । उहाँले प्रविधिको सही उपयोगले मात्रै समाजलाई सकारात्मक दिशामा अघि बढाउन सकिने उल्लेख गर्दै गलत प्रयोगले व्यक्तिगत मात्र होइन, पारिवारिक र सामाजिक समस्या पनि निम्त्याउने चेतावनी दिनुभयो । “विद्यार्थी आजका सिक्ने पुस्ता हुन्, भोलिका नेतृत्वकर्ता पनि । त्यसैले उनीहरूलाई समयमै सचेत बनाउनु जरुरी छ,” उहाँको भनाइ थियो ।
प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले साइबर प्रविधिलाई नकारात्मक दृष्टिले मात्रै नहेर्न आग्रह गर्नुभयो । उहाँले प्रविधि ज्ञानसँगै कानुनी सचेतना पनि आवश्यक रहेको उल्लेख गर्दै साइबर अपराधसम्बन्धी कानुन, दण्ड र उजुरी प्रक्रियाबारे विद्यार्थीलाई जानकारी हुनु अत्यावश्यक भएको बताउनुभयो । “कानुन नजानेर पनि कतिपयले अपराध गर्ने अवस्था देखिन्छ, त्यसैले सचेतना नै सबैभन्दा ठूलो सुरक्षा हो,” उहाँले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक तथा प्रवक्ता दिपक पातलीले जिल्लामा बढ्दो साइबर अपराधको अवस्थाबारे तथ्यांकसहित जानकारी गराउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको एक जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । करिब पाँच सयजति उजुरी आए पनि धेरैजसो मुद्दा छलफल र समझदारीमार्फत टुङ्ग्याइएको उहाँले जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरूलाई सानो गल्तीले पनि कानुनी झमेलामा पर्न सक्ने भएकाले सामाजिक सञ्जाल प्रयोगमा अत्यन्त सतर्क हुन आग्रह गर्नुभयो ।
गाउँपालिकाका सामाजिक विकास संयोजक रामअचल धोबीले सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे विद्यार्थीलाई सचेत गराउनुभयो । अपरिचित व्यक्तिसँग अनलाइन संवाद नगर्न, व्यक्तिगत विवरण र पासवर्ड सुरक्षित राख्न, शंकास्पद लिंक नखोल्न र अनलाइन आर्थिक प्रलोभनमा नपर्न उहाँले विशेष आग्रह गर्नुभयो । उहाँका अनुसार सचेतनाको अभावकै कारण धेरै विद्यार्थी साइबर अपराधको सिकार बन्ने गरेका छन् ।
तालिममा प्रहरी निरीक्षक रमेश बिष्टले सहजीकरण तथा प्रशिक्षण प्रदान गर्नुभएको छ । उहाँले साइबर अपराध र बालविवाहबीचको सम्बन्ध, यसले पार्ने सामाजिक तथा मानसिक नकारात्मक प्रभाव, न्यूनीकरणका उपाय तथा विद्यमान कानुनी व्यवस्थाबारे सरल भाषामा जानकारी दिनुभयो । उहाँले विद्यार्थीलाई समस्या परे तत्काल अभिभावक, विद्यालय वा प्रहरीलाई जानकारी गराउन सुझाव दिनुभयो ।
कार्यक्रममा सहभागी विद्यार्थी कल्पना बर्माले तालिमबाट सामाजिक सञ्जाल सुरक्षित रूपमा प्रयोग गर्ने तरिका सिक्न पाएको बताउनुभयो । त्यस्तै विद्यार्थी शिवानी जैसवालले अनलाइन ठगीका विभिन्न तरिका र त्यसबाट जोगिने उपायबारे थाहा पाएपछि आफू अझ सतर्क भएको प्रतिक्रिया दिनुभयो ।
दुई दिनसम्म सञ्चालन हुने उक्त तालिममा गाउँपालिकाका सूचना प्रविधि अधिकृत विकास जिसी, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, आइटी विज्ञ अंकित श्रीवास्तवलगायतले सहजीकरण गर्ने गाउँपालिकाले जनाएको छ । स्थानीय तहबाट सुरु गरिएको यस्तो सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूलाई डिजिटल संसारमा सुरक्षित र जिम्मेवार नागरिक बन्न सहयोग पुग्ने विश्वास गरिएको छ ।










