लुम्बिनीमा राष्ट्रिय सभा निर्वाचनको सरगर्मी : तीन क्लस्टरमा आज मनोनयन दर्ता

  • नमस्ते कर्णाली

  • २३, पुस २०८२
    बाँके ।माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता सुरु हुँदैछ । लुम्बिनी प्रदेशमा एक अपाङ्गता, एक महिला र एक खुला गरी तीनवटा क्लस्टरअन्तर्गत मनोनयन दर्ता हुन लागेको हो ।
    हाल नेकपा एमालेबाट निर्वाचित राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे तथा नेकपा माओवादी केन्द्रका जगप्रसाद शर्माको कार्यकाल फागुन २० गते समाप्त हुँदैछ । भट्टराई खुला क्लस्टरबाट, घिमिरे महिला क्लस्टरबाट र शर्मा अपाङ्गता क्लस्टरबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्दै आएका थिए ।

    यी तीन पद रिक्त हुन लागेसँगै लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि प्रतिस्पर्धा चर्किने देखिएको छ । प्रदेशमा रिक्त तीन सिटका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
    प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कवरका अनुसार लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य ८७ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१७ जना गरी कुल ३०४ जना मतदाता रहेका छन् । यही मतदाताबाट राष्ट्रिय सभा सदस्यको चयन गरिनेछ ।
    यसैबीच नेकपा एमालेबाट महिला सदस्यतर्फ रामकुमारी झाक्रीलाई अघि बढाउने सहमति भएको चर्चा सार्वजनिक भएको छ । अन्य दलहरू भने उम्मेदवार छनोट र रणनीति निर्माणमा आन्तरिक तयारीमा जुटिरहेका छन् । मनोनयन दर्तासँगै प्रदेशको राजनीतिक माहोल थप तातिने देखिएको छ ।

  • २३ पुष २०८२, बुधबार ०८:४७ प्रकाशित

  • Nabintech