बारबर्दियामा कुपोषित बालबालिकाका लागि स्वास्थ्य परीक्षण तथा पोषण कोशेली वितरण

  • नमस्ते कर्णाली

  • २३, पुस २०८२
    बाँके ।बारबर्दिया नगरपालिका भित्रका करिब दुई सयभन्दा बढी बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ भने प्रतिव्यक्ति करिब दुई हजार रुपैयाँ बराबरको पोषण कोशेली वितरण गरिएको छ । ६ महिनादेखि ५९ महिनासम्म उमेर समूहका कुपोषित बालबालिकालाई लक्षित गर्दै बारबर्दिया नगर अस्पतालमा स्वास्थ्य जाँच तथा पोषण कोशेली वितरण कार्यक्रम सञ्चालन गरिएको हो ।

    बारबर्दिया नगरपालिकाको आयोजनामा जपान सरकारको परराष्ट्र मन्त्रालयको आर्थिक सहयोगमा आड्रा जापान र आड्रा नेपालको प्राविधिक सहयोग तथा वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) कोहलपुरसँगको साझेदारीमा सञ्चालित स्वास्थ्य सबलीकरण परियोजनाअन्तर्गत तेस्रो वर्षको कार्यक्रमका रूपमा शिविर आयोजना गरिएको हो ।
    शिविरमा बालरोग विशेषज्ञ डा. महेश चौलागाईंले बालबालिकाको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । कार्यक्रममा तौल र उचाइ मापन गरी पोषण अवस्था जाँच, कुपोषण पहिचान, पोषण कोशेली वितरण, आवश्यक औषधि निःशुल्क वितरण, पोषणसम्बन्धी परामर्श तथा स्वास्थ्य शिक्षासम्बन्धी जानकारी प्रदान गरिएको थियो । गम्भीर कुपोषित बालबालिकालाई थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा सिफारिससमेत गरिएको थियो ।
    कार्यक्रमको उद्घाटन गर्दै बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले बालबालिकाको पोषण सुधार नगरपालिकाको प्राथमिकता रहेको उल्लेख गर्नुभयो । उहाँले सहयोगी निकायहरूको सहकार्य र निरन्तर सहयोगबाट बाल पोषण सुधारमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।
    नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले पोषण कोशेली बालबालिकालाई कसरी खुवाउने भन्ने विषयमा नमुना प्रस्तुत गरिएको जानकारी दिनुभयो । नियमित रूपमा पोषणयुक्त आहार खुवाउँदा बालबालिकाको पोषण अवस्थामा सुधार आउने उहाँको भनाइ थियो । वडा नम्बर १ देखि ११ सम्म स्क्रिनिङ गरी पहिचान गरिएका कुपोषित बालबालिकालाई शिविरमा सहभागी गराइएको पनि उहाँले जानकारी दिनुभयो ।

    त्यसैगरी, बारबर्दिया नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तीर्थ पौडेलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै निकायप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तो सहकार्य निरन्तर रहने अपेक्षा राख्नुभयो । कार्यक्रममा नगर उपप्रमुख रत्नकुमारी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, परियोजनाका कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

  • २४ पुष २०८२, बिहीबार १२:०१ प्रकाशित

  • Nabintech