२४, पुस २०८२
सुर्खेत ।आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेशमा तीन राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन बनाएर अघि बढ्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भने एकल रूपमा उम्मेदवारी दर्ता गराएको छ । निर्वाचन आयोगले बुधबारलाई उम्मेदवारको मनोनयन दर्ता गर्ने अन्तिम मिति तोकेको थियो ।
आगामी फागुनमा राष्ट्रपतिबाट मनोनित एक जनासहित १९ जना राष्ट्रियसभा सदस्यको पदावधि सकिँदै छ । तीमध्ये १८ सिटका लागि निर्वाचन हुन लागेको हो भने बाँकी एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन् । कर्णाली प्रदेशबाट फागुनमा पदावधि सकिन लागेका दुई राष्ट्रियसभा सदस्य छन् । महिलातर्फ सुर्खेतकी सुमित्रा विसी र अन्यतर्फ जाजरकोटका मायाप्रसाद शर्मा रहेका छन् । यी दुवै सिटमा कांग्रेस–एमाले गठबन्धन र नेकपाबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । विसी एमाले र शर्मा तत्कालीन माओवादी केन्द्रको कोटाबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए ।
कर्णालीमा रिक्त हुने दुई पदका लागि चार जनाको मनोनयन दर्ता भएको छ । कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका ललितजंग शाही र एमालेकी मिनासिं रखालले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, नेकपाको तर्फबाट रुकुम पश्चिमका बुद्धिप्रसाद शर्मा र डोल्पाकी अन्जु महतारा शाहीले मनोनयन दर्ता गराएका छन् । ललितजंग शाही जुम्लाका हुन् भने मिनासिं रखाल दैलेखकी हुन् ।
अन्तिम समयमा तीन दलबीच भागबण्डा नमिलेपछि नेकपाले कर्णालीका दुवै रिक्त सिटमा उम्मेदवारी दिएको हो । कांग्रेस उम्मेदवार शाही कांग्रेस कर्णाली प्रदेशका सभापति हुन् । उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा जुम्लाबाट निर्वाचित भएका थिए । २०७९ को कर्णाली प्रदेशसभा निर्वाचनमा भने कांग्रेसबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेका देवेन्द्रबहादुर शाहीसँग पराजित भएका थिए । एमाले उम्मेदवार रखाल २०७४ मा समानुपातिकतर्फ कर्णाली प्रदेशसभा सदस्य बनेकी थिइन् । उनी हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबाट केन्द्रीय सदस्यमा समेत निर्वाचित भएकी हुन् । नेकपाबाट उम्मेदवार बनेका बुद्धिप्रसाद शर्मा र अन्जु महतारा शाही राष्ट्रिय राजनीतिमा नयाँ अनुहार मानिन्छन् ।
सातै प्रदेशबाट ४४ उम्मेदवार
राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशबाट कुल ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बुधबार सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको हो । प्रदेशगत रूपमा कोसीबाट ५, मधेसबाट ११, बागमतीबाट ६, गण्डकीबाट ६, लुम्बिनीबाट ८, कर्णालीबाट ४ र सुदूरपश्चिमबाट ४ जनाले उम्मेदवारी दिएका छन् ।
आयोगले पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकेको छ । पुस २५ र २६ गते मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । पुस २७ गते उम्मेदवारी फिर्ता लिने समय छ भने सोही दिन साँझ अन्तिम नामावली सार्वजनिक गरिनेछ । पुस २८ गते चुनाव चिह्न वितरण हुनेछ । मतदान माघ ११ गते हुनेछ ।
कर्णालीमा नेकपाले एक सिट गुमाउने निश्चित
यसपटकको निर्वाचनमा कर्णालीबाट नेकपाले यसअघि रहेको एक सिट गुमाउने निश्चित देखिएको छ । एमालेले आफ्नो एक सिट जोगाउँदा कांग्रेसले भने कर्णालीबाट एक सिट थप्ने सम्भावना बलियो छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभारका आधारमा कर्णालीमा कांग्रेस–एमाले गठबन्धनको स्पष्ट बहुमत रहेको छ । दुवै दलको कुल मतभार तीन हजार ५८ रहेको छ ।
हाल कर्णालीबाट पदावधि सकिन लागेका राष्ट्रियसभा सदस्यमा कांग्रेसका कोही छैनन् । तर मतभारका हिसाबले कांग्रेस पहिलो, नेकपा दोस्रो र एमाले तेस्रो स्थानमा छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ ।
कर्णालीमा कांग्रेससँग १४ प्रदेशसभा सदस्य र ५९ पालिका प्रतिनिधि गरी कुल १ हजार ८ सय ६३ मतभार छ । तत्कालीन माओवादी केन्द्रसँग १३ प्रदेशसभा सदस्य र ४८ पालिका प्रतिनिधि गरी १ हजार ६ सय १ मतभार छ । तत्कालीन एकीकृत समाजवादीको १ प्रदेशसभा सदस्य र १० पालिका प्रतिनिधि गरी २ सय ४३ मतभार जोडिँदा नेकपाको कुल मतभार १ हजार ८ सय ४४ पुग्छ । एमालेसँग १० प्रदेशसभा सदस्य र ३५ पालिका प्रतिनिधि गरी १ हजार १ सय ९५ मतभार छ । राप्रपाको १ प्रदेशसभा सदस्य र स्वतन्त्र सांसद तथा ६ पालिका प्रतिनिधि गरी १ सय ६७ मतभार छ । कांग्रेसबाट बागी बनेका स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही भने हाल कांग्रेसमै फर्किसकेका छन् ।
पदावधि सकिन लागेका सांसद
आगामी फागुन २० गतेदेखि एमालेका आठ, नेकपाका आठ, जनता समाजवादी पार्टीका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक र राष्ट्रपतिबाट मनोनित एक गरी १९ सांसदको पदावधि सकिँदै छ । मनोनित सांसदमा वामदेव गौतम छन् । नेकपाबाट नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र बेदुराम भुसालको कार्यकाल समाप्त हुँदैछ । एमालेबाट इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसीको कार्यकाल सकिँदैछ । त्यस्तै, जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको पनि कार्यकाल अन्त्य हुन लागेको छ ।
कर्णालीमा कांग्रेस–एमाले गठबन्धन र नेकपाबीचको प्रतिस्पर्धाले राष्ट्रियसभा निर्वाचनलाई थप रोचक बनाएको छ ।











