नेपाल–भारत सीमा रुपइडिहा नाकामा पहिलो पटक फेस डिटेक्सन क्यामेरा जडान, सुरक्षा व्यवस्था कडा

  • नमस्ते कर्णाली

  • २५,पुस २०८२
    बाँके ।नेपाल–भारत सीमा नाकाअन्तर्गत भारततर्फ पर्ने रुपइडिहा चेकपोष्टमा भारतीय सुरक्षा निकाय सशस्त्र सीमा बल (एसएसबी) ले पहिलो पटक फेस डिटेक्सन क्यामेरा जडान गर्दै सुरक्षा व्यवस्था कडा पारेको छ । सीमामा अवैध आवागमन र घुसपैठ नियन्त्रण गर्ने उद्देश्यसहित यो प्रविधि प्रयोगमा ल्याइएको हो ।
    एसएसबीका कमाण्डेन्ट गंगासिंह उरावतका अनुसार नेपाल र भारतबाहेक अन्य देशका नागरिक अवैध रूपमा भारत प्रवेश गर्न नपाऊन् भन्ने उद्देश्यले भारत–नेपाल सीमामा यो प्रणाली जडान गरिएको हो । सीमामा हुने घुसपैठ, आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू एक देशबाट अर्को देशमा पुगेर लुकेर बस्ने प्रवृत्ति बढ्दै गएको अवस्थामा निगरानीलाई प्रभावकारी बनाउन फेस डिटेक्सन क्यामेरा प्रयोगमा ल्याइएको उहाँले बताउनुभयो ।
    हाल रुपइडिहा नाकाबाट आवागमन गर्ने सबै यात्रुले केहीबेर उभिएर क्यामेरामा आफ्नो अनुहार देखाउनुपर्ने व्यवस्था गरिएको छ । साथै, यात्रुले आफ्नो आधिकारिक परिचयपत्रसमेत क्यामेरामा देखाएर डिजिटल रेकर्डिङ गराउनुपर्ने प्रावधान लागू गरिएको छ । यसबाट आवागमन प्रक्रियामा केही समय थप लाग्ने भए पनि सुरक्षाको दृष्टिकोणले यो व्यवस्था अत्यन्तै आवश्यक र प्रभावकारी रहेको एसएसबीको दाबी छ ।
    रुपइडिहास्थित भारतीय प्रहरी थानाका प्रमुख रमेशसिंह रावतले केन्द्र सरकारबाट आएको निर्देशनअनुसार सीमाको सुरक्षा व्यवस्था थप कडा बनाउन फेस डिटेक्सन क्यामेरामार्फत हरेक यात्रुको अनुहार र परिचयपत्रको डिजिटल अभिलेख राख्ने काम सुरु गरिएको जानकारी दिनुभयो ।
    नयाँ प्रविधि प्रयोगसँगै सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण हुनुका साथै भारत–नेपाल सीमाको सुरक्षा अझ सुदृढ हुने विश्वास गरिएको छ ।

  • २५ पुष २०८२, शुक्रबार ०७:१३ प्रकाशित

  • Nabintech