बर्दियामा बालकुपोषण न्यूनीकरणतर्फ ठोस पहल : पाँच पालिकामा निःशुल्क स्वास्थ्य शिविर, ८ सय बालबालिका लाभान्वित हुने

  • नमस्ते कर्णाली

  • ३०, पुस २०८२
    बर्दिया ।बर्दिया जिल्लामा पाँच वर्ष मुनिका बालबालिकामा कुपोषणको जोखिम उच्च देखिन थालेपछि उनीहरूको स्वास्थ्यलाई विशेष ध्यान दिँदै कुपोषणबाट प्रभावित पालिकाहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमार्फत बालबालिकाको नियमित स्वास्थ्य परीक्षण, पोषण अवस्थाको मूल्याङ्कन तथा अभिभावकलाई आवश्यक परामर्श प्रदान गरिँदा बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ ।
    स्वास्थ्य सबलीकरण परियोजनाअन्तर्गत सञ्चालन गरिएको उक्त शिविरमा कुपोषणका कारण पहिचान, रोकथाम र न्यूनीकरणका उपायबारे जानकारी दिइनुका साथै पोषण कोसेली समेत वितरण गरिएको छ । बर्दिया जिल्लामा कम उमेरमै विवाह गर्ने प्रवृत्ति, खानपानमा पर्याप्त ध्यान नदिनु, पोषणसम्बन्धी ज्ञानको कमी तथा आर्थिक अवस्थाका कारण बालबालिकामा कुपोषण देखापरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
    आड्रा नेपालकी प्रतिनिधि शिवानी भट्टराईका अनुसार जिल्लामा बालकुपोषण न्यूनीकरण गर्न समुदायस्तरमै पुगेर कार्यक्रम सञ्चालन गरिएको हो । “बर्दियामा पाँच वर्ष मुनिका बालबालिकामा कुपोषणको जोखिम देखिएको छ । कम उमेरमा विवाह हुनु, गर्भावस्थामा आमाको पोषणमा ध्यान नदिनु र बालबालिकाको सन्तुलित आहारमा कमी हुनु यसको मुख्य कारण हुन्,” उहाँले भन्नुभयो, “यस्ता समस्या समाधान गर्न स्वास्थ्य सबलीकरण परियोजनामार्फत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी पोषण कोसेली समेत प्रदान गरिएको छ ।”
    उक्त कार्यक्रम जापान सरकारको परराष्ट्र मन्त्रालयको आर्थिक सहयोगमा आड्रा जापान तथा आड्रा नेपालको प्राविधिक सहयोग र वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) को साझेदारीमा सञ्चालन भइरहेको छ । शिविरमा बालबालिकाको उचाइ, तौल, मध्य–माथिल्लो हातको घेराइ (MUAC) जाँच गरी कुपोषणको अवस्था पहिचान गरिनुका साथै अभिभावकलाई खानपान, सरसफाइ र बाल स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरिएको छ ।
    बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले स्थानीय तहसँगको समन्वयमा शिविर सञ्चालन गरिएको बताउनुभयो । “स्थानीय सरकारको सहकार्यमा समुदायसम्म पुगेर बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ,” उहाँले भन्नुभयो, “यसले बालकुपोषणको वास्तविक अवस्थाबारे लेखाजोखा गर्न र दीर्घकालीन योजना बनाउन सहयोग पुर्‍याउनेछ ।”
    शिविरबाट सेवा लिने अभिभावकहरू पनि उत्साहित देखिएका छन् । सेवाग्राही सबिता थारु समयमै स्वास्थ्य जाँच गर्न पाउँदा खुसी व्यक्त गर्नुहुन्छ । “पहिले बालबालिकाको तौल र पोषण अवस्थाबारे खासै जानकारी थिएन,” उहाँले भन्नुभयो, “शिविरमा आएपछि स्वास्थ्य अवस्था थाहा पायौं, के–कस्तो खाना खुवाउने भन्ने परामर्श पनि पायौं ।”
    इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायाले कुपोषण प्रभावित पालिकामा लक्षित कार्यक्रम सञ्चालन गर्नु प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । “बालकुपोषण न्यूनीकरणका लागि नियमित स्वास्थ्य शिविर, पोषण कोसेली र अभिभावक सचेतना अत्यन्त आवश्यक छ,” उहाँले भन्नुभयो, “यस कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पारेको छ ।”
    कार्यक्रमअन्तर्गत बर्दियाका पाँचवटा पालिकामा करिब ८ सय बालबालिकाको स्वास्थ्य परीक्षण गरी पोषण कोसेली प्रदान गर्ने लक्ष्य राखिएको छ । सम्बन्धित निकायका अनुसार हालसम्म शिविरले राम्रो प्रभाव देखाउन थालेको छ र कुपोषण न्यूनीकरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।
    बर्दिया जिल्लामा कुपोषणको अवस्था अझै कमजोर रहेको भए पनि यस्ता लक्षित कार्यक्रमहरूले बालबालिकाको स्वास्थ्य सुधारमा आशा जगाएको छ । स्वास्थ्यकर्मीहरूका अनुसार दीर्घकालीन रूपमा कुपोषण अन्त्य गर्न अभिभावकको व्यवहार परिवर्तन, पोषणसम्बन्धी शिक्षा, स्थानीय सरकारको सक्रियता र निरन्तर अनुगमन आवश्यक छ । शिविरमार्फत सुरु गरिएको यो पहल पछिल्लो समय प्रभावकारी बन्दै गएको र आगामी दिनमा थप विस्तार गरिने अपेक्षा गरिएको छ ।

  • १ माघ २०८२, बुधबार ०७:४४ प्रकाशित

  • Nabintech