सुर्खेत ,१० माघ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१ औँ वार्षिक उत्सवको अवसरमा कर्णाली प्रादेशिक कार्यालय सुर्खेतद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम बराहताल गाउँपालिका वडा नम्बर ५ स्थित जनज्योति माध्यमिक विद्यालय, बड्डिचौरमा सम्पन्न भएको छ ।
कार्यक्रम राष्ट्रिय वाणिज्य बैंक कर्णाली प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दुष्यन्त राज निरौलाको प्रमुख उपस्थितिमा सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक कमलराज आचार्य, शिक्षक–कर्मचारी तथा कक्षा ११ र १२ मा अध्ययनरत करिब ८० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बैंकिङ सेवा प्रवाह, कर्जा प्रवाह प्रक्रिया, डिजिटल बैंकिङको प्रयोग तथा सुरक्षित वित्तीय कारोबारका विषयमा विस्तृत जानकारी प्रस्तुत गरिएको थियो । विद्यार्थीहरूलाई बचत गर्ने बानी, डिजिटल माध्यममार्फत बैंकिङ सेवा उपयोग गर्ने तरिका तथा आधुनिक बैंकिङ प्रणालीबारे सचेत गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
सो अवसरमा प्रादेशिक प्रबन्धक दुष्यन्त राज निरौलाले विद्यालयलाई मायाको चिनो स्वरूप विद्युतीय वाटर डिस्पेन्सर हस्तान्तरण गरे । उनले वित्तीय साक्षरता युवा पुस्ताका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै, विद्यार्थीहरूलाई सही वित्तीय निर्णय लिन सक्ने बनाउने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर गरिने बताए ।
कार्यक्रमको अन्त्यमा विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरूले बैंकिङ व्यवसाय, बैंक सञ्चालन प्रक्रिया तथा कर्जासम्बन्धी विषयमा जिज्ञासा राख्दै उत्साहपूर्वक अन्तरक्रिया गरेका थिए । प्रश्नोत्तर र छलफलसहित सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रम प्रभावकारी बनेको आयोजकको भनाइ छ ।











