नेपालगञ्ज नाकाबाट जडिबुटी निकासीमा उत्साहजनक वृद्धि, चालु आवमा ३३ करोडभन्दा बढीको निर्यात

  • नमस्ते कर्णाली

  • बाँके,१९ माघ।

    पश्चिम नेपालकै प्रमुख नाकामध्येको एक नेपालगञ्ज नाकाबाट जडिबुटी निकासी फेरि उल्लेखनीय रूपमा बढ्न थालेको छ । साविकको मध्य तथा सुदूरपश्चिम विकास क्षेत्रको केन्द्रबिन्दु र हाल लुम्बिनी प्रदेशको प्रमुख आर्थिक केन्द्रका रूपमा रहेको नेपालगञ्ज जडिबुटी व्यापारको महत्वपूर्ण ‘हब’ मानिँदै आएको छ । केही वर्षयता घट्दो क्रममा रहेको जडिबुटी निकासी पछिल्लो समय पुनः लयमा फर्किन थालेपछि यस क्षेत्रमा आशा र उत्साह थपिएको छ ।
    नेपालगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को पुस मसान्तसम्म यस नाकाबाट ३३ करोड रुपैयाँभन्दा बढी मूल्यको जडिबुटी निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ७१ प्रतिशतले बढी हो । भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्म ३३ करोड १३ लाख ४९ हजार रुपैयाँ बराबरको ११ लाख १४ हजार ८०४ किलो विभिन्न प्रकारका जडिबुटी निकासी भएका छन् । गत आवको सोही अवधिमा १९ करोड ३४ लाख ७४ हजार रुपैयाँको जडिबुटी मात्र निर्यात भएको थियो । यसरी हेर्दा चालु आवमा जडिबुटी निर्यातमा १४ करोड रुपैयाँभन्दा बढीको वृद्धि भएको छ ।
    भन्सार कार्यालयका अनुसार यस नाकाबाट पहिलोपटक सल्लाको आँखला पनि निर्यात गरिएको छ । पछिल्ला ६ महिनामा ६ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको सल्लाको आँखला निर्यात भएको भन्सारको तथ्याङ्कमा उल्लेख छ । यद्यपि, सल्लाको आँखलामा सय प्रतिशत कर लाग्ने भएकाले यसको निर्यात अपेक्षित रूपमा बढ्न नसकेको व्यवसायीहरूले बताएका छन् । करको दर घटाइएमा यस किसिमका वनजन्य उत्पादनको निकासी थप बढ्ने उनीहरूको भनाइ छ ।
    पछिल्लो समय कच्चा जडिबुटी मात्रै नभई प्रशोधन गरेर निकासी गर्ने क्रम पनि बढ्दै गएको उद्योगी–व्यवसायीहरूले बताएका छन् । नेपालगञ्ज नाकाबाट भारततर्फ निर्यात हुने प्रमुख जडिबुटीमा टिमुर, काउलो, सतुवा, बोझो, दालचिनी र अमला रहेका छन् । जडिबुटी व्यवसायी सङ्घका अनुसार नेपालबाट निर्यात हुने कुल जडिबुटीमध्ये करिब ८५ प्रतिशत भारतमा जाने गरेको छ ।
    जडिबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले केही वर्षअघिसम्म घट्दो अवस्थामा पुगेको जडिबुटी निर्यात पछिल्लो समय पुनः बढ्न थालेको बताउनुभयो । उहाँका अनुसार सरकारले निर्यातलाई सहज बनाउने स्पष्ट र व्यवहारिक जडिबुटी नीति ल्याउन सके निकासी अझै तीव्र रूपमा बढ्न सक्छ । “हामीसँग पर्याप्त सम्भावना छ, तर नीतिगत झन्झटले व्यवसायीलाई निरुत्साहित बनाएको छ,” उहाँले भन्नुभयो ।
    अध्यक्ष शर्माका अनुसार हिमाली जिल्लाबाट जडिबुटी सङ्कलन गर्न अनुमति र छुट पुर्जी लिन सदरमुकामसम्म धाउनुपर्ने झन्झट अझै हट्न सकेको छैन । यसले साना तथा स्थानीय व्यवसायीलाई ठूलो मार परेको छ । “साना व्यवसायीले जडिबुटी सङ्कलन र ओसारपसार गर्न नसक्ने अवस्था छ । एउटा जिल्लाबाट अर्को जिल्लामा लैजान समेत प्रशासनिक अप्ठ्यारो खेप्नुपर्छ,” उहाँले गुनासो गर्नुभयो ।
    व्यवसायीहरूका अनुसार यी झन्झट हटाई स्थानीय तहबाटै अनुमति दिने व्यवस्था, करको दर पुनरावलोकन तथा प्रशोधन उद्योगलाई प्रोत्साहन गर्ने नीति लागू गरिएमा नेपालगञ्ज नाका हुँदै जडिबुटी निर्यात अझै विस्तार हुन सक्छ । यसले न केवल व्यवसायीको आय बढाउनेछ, हिमाली तथा पहाडी क्षेत्रमा रोजगारी सिर्जना गर्दै राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

  • २० माघ २०८२, सोमबार १७:३४ प्रकाशित

  • Nabintech