बाँकेमा एचपिभी खोप अभियान प्रभावकारी: ७ हजार ५२५ किशोरीले लगाए खोप

  • नमस्ते कर्णाली

  • ७, फाल्गुन २०८२
    बाँके ।बाँके जिल्लामा माघ २५ गतेदेखि सञ्चालन गरिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। अभियान अन्तर्गत हालसम्म सात हजार ५२५ जना किशोरीलाई एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
    राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका आठवटा पालिकामा यस वर्ष आठ हजार ५८४ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो। सो लक्ष्यअनुसार अभियान सञ्चालन भइरहेको र अब थोरै संख्यामा मात्र किशोरीलाई खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
    स्वास्थ्य कार्यालय बाँकेका अनुसार पालिकागत विवरणमा कोहलपुरमा एक हजार ७००, नेपालगन्जमा एक हजार ७५९, राप्तीसोनारी गाउँपालिकामा ५८०, बैजनाथ गाउँपालिकामा ८५०, नरैनापुर गाउँपालिकामा ७१६, जानकी गाउँपालिकामा ६७०, खजुरा गाउँपालिकामा एक हजार र डुडुवा गाउँपालिकामा २५० जना किशोरीलाई खोप लगाइएको छ।
    स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोर्कण गिरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा केही किशोरी छुटपुट रूपमा बाँकी रहेकाले उनीहरूलाई खोप लगाउने कार्य जारी रहेको छ। “लक्षित समूहका सबै किशोरीलाई समेट्ने हाम्रो प्रयास जारी छ, त्यसैले केही दिन अझै खोप कार्यक्रम सञ्चालन हुनेछ,” उहाँले भन्नुभयो।
    कार्यालयका अनुसार माघ २५ गतेदेखि सुरु गरिएको यस अभियानमा विद्यालयमा अध्ययनरत कक्षा ६ का किशोरी, विद्यालय बाहिर रहेका १० वर्षका किशोरी तथा अघिल्लो वर्ष खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिरका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई समेटिएको छ।
    स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपिभी खोप अत्यन्त प्रभावकारी रहेको बताउँदै अभियानलाई सफल बनाउन सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो। “लक्षित समूहका कुनै पनि किशोरी खोपबाट वञ्चित नहोस् भन्ने हाम्रो उद्देश्य हो। अभिभावक र विद्यालयले विशेष ध्यान दिनु आवश्यक छ,” उहाँले भन्नुभयो।
    एक डोज एचपिभी खोपको बजार मूल्य आठ हजार रुपैयाँभन्दा बढी पर्ने भए पनि सरकारले निःशुल्क रूपमा उपलब्ध गराइरहेकोले यो अवसर निकै महत्वपूर्ण भएको स्वास्थ्य कार्यालयले जनाएको छ। समयमै खोप लगाउँदा भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिम उल्लेख्य रूपमा घट्ने भएकाले अभियानमा अभिभावक, विद्यालय र समुदायबाट सकारात्मक सहयोग प्राप्त भइरहेको कार्यालयको भनाइ छ।
    स्वास्थ्य कार्यालयले लक्षित उमेर समूहका सबै किशोरीलाई खोप लगाउन आग्रह गर्दै अभियानलाई पूर्ण सफल बनाउन सामूहिक सहकार्य आवश्यक रहेको जनाएको छ।

  • ७ फाल्गुन २०८२, बिहीबार ०६:५० प्रकाशित

  • Nabintech