९, फाल्गुन २०८२
बाँके । असल शासन पोष्ट साप्ताहिक पत्रिकाको रजत समारोह नेपालगन्जमा भब्यताका साथ सम्पन्न भएको छ । सुशासनको विट मार्फत निरन्तर प्रकाशन हुदै आएको पत्रिकाको रजत समारोह निर्वतमान प्रतिनिधि सभा सदस्य डा. धवल शम्शेर राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । असल शासन पोष्ट साप्ताहिकका सम्पादक नमस्कार शाहको अध्यक्षतामा भएको रजत समारोहमा पत्रिकाले रजत समारोह मनाएकोमा शुभकामना तथा पत्रिका प्रकाशनमा निरन्तर सहयोग गर्ने ब्यक्ति तथा संस्थालाई सम्मान र उत्कृष्ट पाठकलाई सम्मान गरिएको छ । कार्यक्रमका बिच उत्कृष्ट बिज्ञापन दाताको रुपमा अमृत बुक्स एन्ड स्टेशनरी नेपालगन्ज र ब्राइटल्याण्ड स्कुल नेपालगन्जलाई सम्मान गरिएको छ ।

यसैगरी उत्कृष्ट पाठकको रुपमा माइति नेपाल नेपालगन्जमा प्रमुख केशब कोइराला र दिदि बहिनी समाज बाँकेका अध्यक्ष रमा देबि शाहलाई सम्मान गरिएको छ । पत्रिका प्रकाशनको क्रममा सम्पादन समुहमा रहेर भूमिका निर्वाह गरेका पूर्व सह-सम्पादक भाईराजा श्रीवास्तब र ओबिराज आचार्यलाई सम्मान गरिएको छ । उनीहरुलाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो । रजत समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि निर्वतमान प्रतिनिधि सभा सदस्य डा. धवलशम्सेर राणाले सुशासनको विटमा काम गर्ने पत्रिका आगामी दिनमा थप सशक्त रुपमा आउन जरुरी रहेको बताउनुभयो ।उहाँले भ्रस्टाचार गर्नेहरुलाई कुनै पनि अवस्थामा समाजबाट बहिष्करण गर्नुपर्नेमा जोड दिनुभयो। समाजमा सुशासन कायम गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले हरेक नागरिकको आवाज बन्न असल शासनलाई शुभकामना दिनुभयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासँघका लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋसी चौलागाईले असल शासन पोस्टको स्थापना कालदेखी परिचित रहेको भन्दै भ्रस्टाचार रहित पत्रकारीतामा खरो उत्रिएको टिमलाई बधाई ज्ञापन गर्नुभयो । उहाँले निरन्तर पत्रिका प्रकाशनको शुभकामना दिनुभयो। यसैगरी कार्यक्रममा बोल्दै शिक्षाविद् तथा बास नेपालका सल्लाहकार किरण आचार्यले इच्छा र चाहनाले सफलता हासिल गर्न सक्छ भन्ने उदाहरण असल शासन पोष्ट रहेको बताउनुभयो । सुशासन कायम गर्न असल शासनले मोलेको जोखिम प्रशंसायोग्य रहेको उहाँको भनाई थियो ।

समाज सेवी जयकेश सिहले सुशासन को क्षेत्रमा सुनामी ल्याउन असफल असल शासन पोष्टलाई बधाई र शुभकामना ब्यक्त गर्नुभयो । बास नेपालका सल्लाहकार तथा अधिबक्ता लोक बहादुर शाहले असल शासन पोष्टले हरेक नागरीकलाई सुसुचित बनाएको बताउनुभयो । यसैगरी मंगल प्रसाद माबिका प्रधानाध्यापक सध्या गुप्ताले सुशासन र पारदर्शि कार्य गर्ने ब्यक्ति तथा संस्थाको साथमा असल शासन पोष्ट उभिएको देख्दा खुसी लागेको बताउनुभयो। कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले समाज समाज रुपान्तरमा असल शासन पोष्ट साप्ताहीकले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। कार्यक्रमका बोल्दै सम्मानीत असल शासन पोष्टका पूर्ब सहसम्पादक ओबिराज आचार्यले असल शासन पोष्ट जस्तो निष्पक्ष पत्रिको हिस्सा बन्न पाएकोमा गौरवाम्बित रहेको बताउनुभयो । यसैगरी उत्कृष्ट पाठकको रुपमा सम्मानीत माइती नेपाल नेपालगन्जका प्रमुख केशब कोइरालाले असल शासन पोष्टको प्रकाशनले समाजमा भइरहेको गलत कार्यहरु रोकीएको बताउनुभयो । उहाँले पत्रिकाको निरन्तर प्रकाशनको शुभकामना दिनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका १ सय बढीको सहभागिता रहेको थियो ।










