प्रतिनिधिसभा निर्वाचन–२०८२: बाँकेमा नियोकद्वारा २१ पर्यवेक्षक परिचालन, अभिमुखीकरण सम्पन्न

  • नमस्ते कर्णाली

  • १७, फाल्गुन २०८२
    बाँके।प्रतिनिधिसभा निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) बाँके शाखाले जिल्लामा खटिने पर्यवेक्षकहरूलाई अभिमुखीकरण प्रदान गरेको छ।
    नियोक बाँके शाखाको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ रहनुभएको थियो। उद्घाटन सत्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी तामाङले निर्वाचनलाई भयरहित र विश्वसनीय बनाउन पर्यवेक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। उहाँले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै व्यावसायिक र जिम्मेवार ढंगले काम गर्न सबैलाई आग्रह गर्नुभयो। निर्वाचन सफल बनाउन सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले प्रत्येक निकाय र सरोकारवाला पक्षको योगदान उत्तिकै महत्वपूर्ण हुने धारणा राख्नुभयो।
    कार्यक्रममा विशिष्ट अतिथि तथा नियोक लुम्बिनी प्रदेश समिति अध्यक्ष वसन्त गौतमले पर्यवेक्षण आचारसंहिता कडाइका साथ पालना गर्दै निष्पक्ष र तथ्यपरक रूपमा काम गर्न आग्रह गर्नुभयो। नियोकले प्रदेश, जिल्ला तथा जेन–जीमार्फत समेत पर्यवेक्षक परिचालन गरेको जानकारी दिइएको छ।
    अभिमुखीकरण कार्यक्रममा पर्यवेक्षणको उद्देश्य, निर्वाचन अवधिमा ध्यान दिनुपर्ने संवेदनशील विषयहरू, मौन अवधिको पालना, मतदान दिनको आचरण, रिपोर्टिङ प्रक्रिया तथा कल सेन्टर सञ्चालन सम्बन्धी विषयमा नियोक बाँकेका अध्यक्ष नमस्कार शाह र सचिव हेमराज भट्टले सहजीकरण गर्नुभएको थियो। अभिमुखीकरणपछि सहभागी पर्यवेक्षकहरूलाई प्रदेश अध्यक्ष गौतमले सपथ ग्रहण गराउनुभएको थियो।
    प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि बाँके जिल्लामा नियोकमार्फत ११ जना तथा जेन–जीमार्फत १० जना गरी कुल २१ जना पर्यवेक्षक जिल्लाभर परिचालन गरिएको जनाइएको छ।
    कार्यक्रमको समापन नियोक बाँके शाखाका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता लोकबहादुर शाहले गर्नुभएको थियो। उहाँले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन निष्पक्ष र प्रभावकारी पर्यवेक्षण अपरिहार्य हुने उल्लेख गर्नुभयो।

  • १७ फाल्गुन २०८२, आईतवार १४:५६ प्रकाशित

  • Nabintech