२, चैत २०८२
सुर्खेत । कर्णाली प्रदेशमा अझै पनि परम्परागत र प्रथाजनित हानिकारक सोचका कारण छाउपडी प्रथा पूर्ण रूपमा हट्न नसकेको तथ्य उजागर भएको छ। वीरेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन गरिएको छाउपडी सम्बन्धी कार्यशालाका सहभागीहरूले महिनावारीका समयमा महिलालाई घरभित्र राख्दा देवता रिसाउँछन् भन्ने गहिरो मनोवैज्ञानिक धारणा समाजमा अझै कायम रहेको बताएका छन्।
कार्यशालामा दैलेखको आठबीस नगरपालिका–१ सातलाका अधिकारी देवताका धामी तेजबहादुर विकले महिनावारी भएका महिलालाई घरमा राख्दा देवताले स्वीकार नगर्ने विश्वास रहेको बताए। उनले महिनावारी भएका महिलालाई सुरक्षित राख्नु ठीक भए पनि घरभित्र सबैसँग बसाल्न नहुने धारणा व्यक्त गरे। “देवताले स्वीकार्दैनन्। यदि यस्तो परम्परा उल्लंघन गरियो भने महिलाहरू आफैं बिरामी पर्छन् भन्ने विश्वास छ,” उनले भने।
उनले आफ्नै घरमा पनि श्रीमती र तीन जना छोरी महिनावारी भएका बेला घरबाहिर बस्ने र सात दिनपछि मात्रै घरभित्र प्रवेश गर्ने चलन रहेको जानकारी दिए।
कार्यशालामा प्रस्तुत अध्ययन तथा प्रतिवेदनमाथि सहभागीहरूले विस्तृत बहस र छलफल गर्दै महिनावारीसँग सम्बन्धित सामाजिक कुरीति न्यूनीकरण, महिलाको स्वास्थ्य अधिकार सुनिश्चितता र छाउपडी प्रथा अन्त्यका चुनौती तथा सम्भावित समाधानबारे धारणा राखेका थिए।
कार्यक्रममा बोल्दै दैलेखको आठबीस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालले समाजमा रहेको सोच र व्यवहारका कारण छाउपडी प्रथा अन्त्य गर्न कठिन भइरहेको बताए। उनका अनुसार शिक्षित र सचेत व्यक्तिहरूले समेत व्यवहारमा परिवर्तन नगर्दा यस्तो कुप्रथा अझै कायम रहिरहेको छ।
“महिनावारीका बेला घरभित्र बस्दा देविदेवता रिसाउँछन् भन्ने धारणा समाजमा गहिरो रूपमा बसिरहेको छ। तर त्यो वैज्ञानिक रूपमा सत्य होइन,” उनले भने। बडुवालले धार्मिक आस्था र परम्परालाई सम्मान गर्दै पनि महिलालाई महिनावारीका समयमा घरबाहिर राख्ने चलन अन्त्य गर्नुपर्नेमा जोड दिए।
यस्तै, आठबीस नगरपालिका–१ का वडाध्यक्ष बमबहादुर रावतले छाउपडी प्रथाले समाजमा गहिरो जरा गाडेको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि दीर्घकालीन प्रयास आवश्यक पर्ने बताए।
आठबीस नगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख देवराज तिमिल्सेनाले छाउपडी अन्त्यका लागि निरन्तर जनचेतनामूलक अभियान र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यशालामा विकास स्रोत केन्द्रका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्राडा भीमसेन देवकोटाले महिनावारीसँग जोडिएको विभेद नेपालका धेरै ठाउँमा विभिन्न स्वरूपमा रहेको बताए। “कतै ठूलो रूपमा छ, कतै सानो रूपमा। तर महिनावारी बार्ने चलन प्रायः सबै ठाउँमा देखिन्छ,” उनले भने। उनले महिलालाई महिनावारीका समयमा परिवार र समुदायसँगै सुरक्षित वातावरणमा राख्नुपर्नेमा जोड दिए।
प्रथाजनित सोच हटाउनुपर्नेमा जोड
कार्यशालाका सहभागीहरूले छाउपडी प्रथा अन्त्यका लागि प्रथाजनित हानिकारक परम्परागत सोच हटाउनुपर्नेमा विशेष जोड दिएका छन्। ‘हाम्रो आवाजः छाउपडी अन्त्य, परिवर्तित जीवन’ भन्ने सन्देशसहित सञ्चालन गरिएको उक्त कार्यशाला महिनावारी स्वास्थ्य प्रवर्द्धन कार्यक्रम ‘समिप’ अन्तर्गत आयोजना गरिएको हो।
कार्यक्रम अमेरिकास्थित पिट्सवर्ग विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, विकास स्रोत केन्द्र, एमएचएमपीए नेपाल लगायतका संस्थाको संयुक्त आयोजनामा तथा एनआईएच फोगार्टी इन्टरनेशनल सेन्टरको आर्थिक सहयोगमा सम्पन्न भएको थियो।
शनिबार र आइतबार गरी दुई दिन चलेको कार्यशालामा ‘समिप’ कार्यक्रमले गत जेठमा दैलेखको आठबीस नगरपालिका–१ सातलाका विभिन्न टोलमा १० दिनसम्म अध्ययन तथा अनुसन्धान गरेर तयार पारेको छाउपडी प्रथासम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको थियो।
उक्त अध्ययन प्रतिवेदनबारे त्रिभुवन विश्वविद्यालयकी शोधकर्ता सुधा घिमिरे र अमेरिकाकी अनुसन्धानकर्ता सारा (Sarah) ले प्रस्तुति दिएकी थिइन्। महिला समुदायसँग सम्बन्धित विषयमा १२ वर्षदेखि नेपालमा काम गर्दै आएकी अनुसन्धानकर्ता साराले ‘समिप’ कार्यक्रमले समुदायका महिला, धामी–झाँक्री, शिक्षक, विद्यालय र अन्य बुद्धिजीवीलाई संवादमा जोड्ने प्रयास गरेको बताइन्।
“हामी सबैको आवाजलाई एउटै प्लेटफर्ममा ल्याउन चाहन्छौँ,” उनले भनिन्, “महिलाहरू महिनावारी हुँदा बाहिर बस्दा भोग्नुपरेका पीडा र अनुभवलाई समुदायका सबै व्यक्तिसम्म पुर्याउने हाम्रो प्रयास हो।”
समस्या पहिचानदेखि समाधानका उपायसम्म छलफल
दुई दिनसम्म चलेको कार्यशालामा छाउपडी प्रथा अन्त्यका लागि देखिएका समस्या र चुनौतीहरूको पहिचानसँगै समाधानका सम्भावित उपायबारे पनि छलफल गरिएको थियो।
पहिलो दिन सहभागीहरूले समुदायमा कायम रहेका महिनावारीसम्बन्धी विभेद, धार्मिक विश्वासका कारण हुने सामाजिक बहिष्कार तथा सुरक्षित संरचनाको अभावजस्ता समस्याहरू पहिचान गरेका थिए।
त्यसपछि समुदायका सदस्यहरूसँग छलफल गरी समाधानका सम्भावित उपाय र उपलब्ध स्रोतहरूको पहिचान गरिएको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्राडा भीमसेन देवकोटाले जानकारी दिए।
उनका अनुसार छलफलका क्रममा शिक्षा, पूर्वाधार विकास, सामाजिक सञ्जाल र सांस्कृतिक कार्यक्रममार्फत जनचेतना फैलाउने विभिन्न प्रस्तावहरू आएका छन्।
स्थानीय तहहरूले विद्यालयको पाठ्यक्रममै महिनावारी स्वास्थ्य र धार्मिक आस्थासँग सम्बन्धित जनचेतनामूलक विषय समावेश गर्ने, स्वास्थ्यकर्मीहरूले विद्यालयमा पुगेर महिनावारी स्वास्थ्यसम्बन्धी कक्षा सञ्चालन गर्ने जस्ता उपाय सुझाइएका छन्।
त्यसैगरी नयाँ घर निर्माण गर्दा सुरक्षित शौचालयसहितको ‘आराम कक्ष’ निर्माण गर्ने व्यवस्था मिलाउने, महिनावारीसम्बन्धी सकारात्मक सन्देश भएका भिडियो सामग्री तयार गरी सामाजिक सञ्जालमार्फत प्रसारण गर्ने तथा गीत–संगीत र सांस्कृतिक कार्यक्रममार्फत सकारात्मक सन्देश फैलाउने जस्ता उपायहरू पनि प्रस्ताव गरिएको छ।
कार्यशालामा आठबीस नगरपालिकाका नगरप्रमुख तर्कबहादुर बडुवाल, वडाध्यक्ष बमबहादुर रावत, त्रिभुवन विश्वविद्यालय वीरेन्द्रनगर बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. बेलपत्रनाथ योगी, मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक त्रिभुवन बिसी, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता, धामी–पुजारी, सरोकारवाला निकायका प्रतिनिधि तथा विभिन्न समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो।











