बर्दियामा चैते धान रोपाइँ सुरु, सिँचाइ र नीतिगत प्रोत्साहन अभावले खेती घट्दो

  • नमस्ते कर्णाली

  • ७, चैत २०८२

    बर्दिया ।जिल्लामा चैते धान रोपाइँ सुरु भएसँगै किसानहरू खेतबारीमा व्यस्त भएका छन्। विशेषगरी राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई चैते धानको प्रमुख पकेट क्षेत्रका रूपमा चिनिन्छ, जहाँ यतिबेला रोपाइँको चटारो देखिएको छ।
    बर्दियाका राजापुर, ठाकुरबाबा र बारबर्दिया नगरपालिका तथा गेरुवा गाउँपालिकामा चैते धान खेती हुँदै आएको छ। यीमध्ये राजापुर र गेरुवामा बर्खे धानभन्दा चैते धानको उत्पादन राम्रो हुने गरेको किसानहरू बताउँछन्।
    जिल्लामा करिब एक दशकअघिदेखि चैते धान खेती विस्तार हुँदै आएको हो। गेरुवा गाउँपालिका–४, गिदरपुरका किसान सीताराम चौधरीका अनुसार पर्याप्त सिँचाइ सुविधा, गुणस्तरीय बिउ र मल उपलब्ध भएमा चैते धान खेती अत्यन्तै लाभदायक हुने गर्छ।
    यस वर्ष बर्दियामा करिब ७५० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने अनुमान गरिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख वीरेन्द्र पराजुलीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ७०० हेक्टर र आव २०८०/८१ मा ६५० हेक्टरमा चैते धान रोपिएको थियो।
    तर केही वर्षयता चैते धान खेतीमा गिरावट देखिन थालेको छ। विगतमा ‘धान सुपर जोन’ कार्यक्रम सञ्चालन हुँदा करिब १२०० हेक्टरसम्म खेती हुने गरेको थियो। पछिल्लो समय भने राजापुर र गेरुवा क्षेत्रमा चिनी मिल स्थापना भई उखु खेतीलाई प्राथमिकता दिइन थालेपछि चैते धान खेती घट्दै गएको एकाइ प्रमुख पराजुलीले जानकारी दिनुभयो।
    राजापुरका व्यावसायिक किसान पहारी थारूका अनुसार नियमित सिँचाइ सुविधा र मलको अभावले पनि चैते धान खेती प्रभावित भएको छ। “बर्खे धानमा जस्तै सरकारले समर्थन मूल्य तोकेर सहकारीमार्फत खरिद गर्ने व्यवस्था चैते धानमा पनि हुनुपर्छ,” उहाँले भन्नुभयो।
    धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित सरकारले आर्थिक वर्ष २०७३/७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत धान जोन कार्यक्रम लागू गरेको थियो भने आव २०७५/७६ मा धान सुपर जोन कार्यक्रम विस्तार गरिएको थियो।
    हाल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले चैते धान प्रवर्धनका लागि बिउ र विषादी खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ। साथै वैकल्पिक सिँचाइका लागि मोटर पम्प, बोरिङ तथा विभिन्न कृषि औजारमा सहयोग गर्नुका साथै कस्टम हायरिङ सेन्टर स्थापना गरिएको छ। बिउ उत्पादनमा समेत प्रोत्साहन दिइँदै आएको कार्यालयले जनाएको छ।

  • ७ चैत्र २०८२, शनिबार १३:५६ प्रकाशित

  • Nabintech