हुम्लाबाट १३ सय विद्यार्थीले एसइई दिँदै 

  • नमस्ते कर्णाली

  • १८, चैत २०८२

    हुम्ला ।यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा हुम्लाबाट एक हजार ३०० जना विद्यार्थीले सहभागिता जनाउने भएका छन् । निमित्त शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खड्गबहादुर हमालका अनुसार जिल्लाभर रहेका ३२ वटा माध्यमिक विद्यालयका सात वटा परीक्षा केन्द्रमा गरी एक हजार ३०० विद्यार्थीले सहभागिता जनाउने जानकारी दिए । 

    जिल्लाभरका ३२ वटा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीका आधारमा सात वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सात वटा स्थानीय तह रहेको हुम्लामा नाम्खा र चङ्खेली गाउँपालिकाबाहेक अन्य पाँच गाउँपालिकामा परीक्षा केन्द्र तोकिएका हमालले बताए । 

    सिमकोट र सर्केगाड गाउँपालिकामा दुई/दुई वटा परीक्षा केन्द्र तोकिएका छन् भने अन्यमा एक रहेका छन् । परीक्षा केन्द्रमा सिमकोट गाउँपालिकाको बालमन्दिर माविमा नियमिततर्फ १३३ र ग्रेड वृद्धितर्फ ३२ जना रहेका छन् । 

    त्यस्तै, सोही गाउँपालिकाको मानसरोवर माध्यामिक विद्यालयमा नियमिततर्फका १४३ र ग्रेड वृद्धितर्फका ९९ जनाले सहभागिता जनाउने छन् । हिमज्योति माध्यामिक विद्यालय सर्केगाड केन्द्रमा १९१ जना नियमित र २२ जना ग्रेड वृद्धिका गरी २१३ जना परीक्षार्थी, कोट मावि रोडिकोटमा १०६ जना नियमिततर्फका विद्यार्थी छन् भने ग्रेड वृद्धिका विद्यार्थी नभएका उनले जानकारी दिए ।

    जिल्लाको तल्लो क्षेत्रमा रहेको सूर्योदय माध्यामिक विद्यालयमा १४० जना नियमिततर्फका विद्यार्थी रहेका छन् भने ३६ जना ग्रेड वृद्धिका, मदनदेव माविमा २०५ नियमित र ८७ ग्रेड वृद्धिका र सीता मावि खार्पुनाथमा ७९ नियमित तथा २७ ग्रेड वृद्धिका गरी एक हजार ३०० जना परीक्षामा सहभागी हुने उनले बताए । 

    परीक्षालाई मर्यादित बनाउनका लागि जिल्लाका सातवटै गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुखसँग समन्वय भइरहेको बताउँदै प्रश्नपत्र सम्बन्धित स्थानीय तहका प्रहरी चौकीमा र उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रमा पुगिसकेको निमित्त इकाई प्रमुख हमालले बताए । गत वर्ष चैत सात गतेदेखि भएको परीक्षामा एक हजार १०४ जना सहभागी भएका थिए ।

  • १८ चैत्र २०८२, बुधबार १०:३० प्रकाशित

  • Nabintech