बाँकेमा गढ्यौला मल उत्पादनतर्फ किसानको आकर्षण बढ्दो, अर्गानिक खेतीमा नयाँ सम्भावना

  • नमस्ते कर्णाली

  • सरला सुवेदी
    २९, चैत २०८२

    बाँकेमा गढ्यौला मल उत्पादन गर्ने कृषि उद्योगप्रति किसानहरूको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। कम लागतमा उत्पादन गर्न सकिने, छोटो समयमै आम्दानी लिन सकिने र बजार व्यवस्थापन पनि सहज हुने भएकाले विशेषगरी युवा तथा महिलाहरू यस व्यवसायतर्फ आकर्षित भएका हुन्। पछिल्लो समय अर्गानिक खेतीप्रति बढ्दो रुचिसँगै गढ्यौला मलको माग पनि विस्तार हुँदै गएको देखिन्छ।
    जिल्लाका विभिन्न स्थानमा किसानहरूले गढ्यौला मल उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्दै लगेका छन्। उत्पादन प्रक्रिया सरल, लागत न्यून र बजार सुनिश्चित भएकाले यो व्यवसाय ग्रामीण क्षेत्रमा आयआर्जनको भरपर्दो माध्यम बन्न थालेको छ। एक वर्षमै चार पटकसम्म उत्पादन लिन सकिने भएकाले कम समयमा राम्रो आम्दानी सम्भव हुने किसानहरू बताउँछन्। हाल बाँकेमा कम्तीमा आठ जना किसानले गढ्यौला मल उत्पादन व्यवसायलाई निरन्तरता दिइरहेका छन्, जसले उनीहरूको घरपरिवार सञ्चालनमा महत्वपूर्ण सहयोग पुर्‍याएको छ।
    उत्पादन भएको गढ्यौला मलमध्ये करिब ५० प्रतिशत बाँकेमै खपत हुने गरेको छ भने बाँकी मल दाङ, सुर्खेत, जाजरकोट, जुम्ला र रुकुमलगायतका पहाडी जिल्लाहरूमा पठाइने गरिएको छ। अर्गानिक मल भएकाले रासायनिक मलको तुलनामा माटोको उर्वराशक्ति कायम राख्न मद्दत पुग्ने र मानव स्वास्थ्यका दृष्टिले पनि सुरक्षित हुने भएकाले यसको प्रयोग दिनप्रतिदिन बढ्दै गएको छ। करेसाबारी, कौसी खेतीदेखि व्यावसायिक खेतबारीसम्म यसको प्रयोग विस्तार भइरहेको छ।
    नेपालगन्जका गढ्यौला मल उत्पादक कृषक बिरबहादुर हमालका अनुसार अर्गानिक खेतीप्रति किसानहरूको चेतना बढ्दै जाँदा गढ्यौला मलको माग पनि निरन्तर बढिरहेको छ। उनले भारतको पिलिभिटबाट गढ्यौलाको बीउ ल्याएर व्यवसाय सुरु गरेका थिए। सुरुआती चुनौतीहरू पार गर्दै अहिले उनी बाँकेका अग्रणी गढ्यौला मल उत्पादक कृषकका रूपमा परिचित भएका छन्। हमालका अनुसार यस व्यवसायले आफूलाई आत्मनिर्भर मात्र बनाएको छैन, अन्य किसानलाई पनि प्रेरणा दिएको छ।
    त्यस्तै अर्का कृषक बेन्जु शाक्यले गढ्यौला मल उत्पादनले आम्दानीसँगै रोजगारी सिर्जना गरेको बताउछिन् । उनका अनुसार सानो लगानीबाट सुरु गर्न सकिने भएकाले ग्रामीण क्षेत्रमा बेरोजगार युवाहरूका लागि यो व्यवसाय उपयुक्त विकल्प बन्न सक्छ। “स्थानीय स्तरमै उत्पादन गरेर बजारमा बिक्री गर्न पाइने भएकाले यसले गाउँमै बसेर आयआर्जन गर्ने अवसर दिएको छ,” उनले भनिन् ।
    नेपालमा प्रत्येक वर्ष रासायनिक मलको अभाव हुने समस्या देखिँदै आएको छ। यस्तो अवस्थामा स्वदेशमै उत्पादन हुने अर्गानिक मलको प्रयोगलाई प्रोत्साहन गर्न सके कृषकहरूलाई धेरै सहज हुने सरोकारवालाहरूको भनाइ छ। गढ्यौला मलले माटोको गुणस्तर सुधार गर्नुका साथै दीर्घकालीन रूपमा उत्पादन वृद्धि गर्न सहयोग पुर्‍याउने भएकाले यसको प्रयोग विस्तार गर्नु आवश्यक देखिन्छ।
    सम्बन्धित निकायले आवश्यक तालिम, प्रविधि र सहुलियत उपलब्ध गराउने हो भने गढ्यौला मल उत्पादन व्यवसाय अझै विस्तार हुन सक्ने सम्भावना रहेको छ। यसले कृषि क्षेत्रको दिगो विकासमा टेवा पुर्‍याउनुका साथै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

  • २९ चैत्र २०८२, आईतवार ०७:४३ प्रकाशित

  • Nabintech