१, बैशाख २०८३
सुर्खेत ।कर्णाली प्रदेशमा पर्यटकहरु दोहोरिएर नआउनुमा आतिथ्यताको कमी मुख्य कारण रहेको सरोकारवालाहरुले बताएका छन् । शनिबारबाट जारी कर्णाली उत्सवको सातौं संस्करणको ‘घुमिफिरी कर्नाली’ सत्रका वक्ताहरुले कर्णाली पर्यटकीय सम्भावनाले भरिएको भएपनि घुम्न आउनेहरु आतिथ्यताकै कारण दोस्रो पटक फर्केर नआउने गरेको बताए ।
दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले पर्यटकको स्वागत र आतिथ्यताको कमीले कर्णाली पुगेका ८० प्रतिशले दोस्रो पटक आउदिन भन्ने गरेको दृष्टान्त सुनाए । ‘रारा पुगेर फर्किएका ८० प्रतिशत पर्यटकहरूले ‘अब अर्को पटक आउँदिन’ भन्ने गरेको तितो यथार्थ हामीमाझ छ । बाटोमा दुख पाउनु, महँगो शुल्क तिर्नुपर्नुे तर गुणस्तरीय खाना र बसाइ नपाउने समस्याकै कारण पर्यटकहरु दोस्रो पटक फर्केर आउँदैनन,’ उनले भने ।
उनले काठमाडौँ–नेपालगन्जको हवाई भाडा र काठमाडौँ–सुर्खेतको भाडामा रहेको ठूलो भिन्नतालाई कर्णालीको पर्यटन विकासको बाधक भएको दावी गरे । समान दूरी भए पनि सुर्खेतको भाडा दोब्बर हुनुले पर्यटकहरू यहाँ आउन हिचकिचाउँने गरेको उनले बताए ।
‘पर्यटकहरूलाई स्थानीय कोदो, फापर र सिमी खुवाउनुको साटो सहरबाट लगिएका चाउचाउ र बिस्कुट खुवाउने प्रवृत्तिले स्थानीय अर्थतन्त्रलाई फाइदा पुगेको छैन । पर्यटकहरूले यहाँको फोहोर मात्र छोडेर जाने तर पैसा खर्च नगर्ने अवस्थाको अन्त्य हुनुपर्छ,’ विसीले भने । स्थानीय तहले पर्यटन प्रवद्र्धनका लागि प्रयास थालेपनि स्रोत अभाव झेलिरहेको उनले सुनाए ।
विसीले डाँडाकाँडामा प्राकृतिक दृश्य हेर्न टावर बनाउने होडबाजीको कडा आलोचना गरे । उनका अनुसार टावरबाट देखिने दृश्य र डाँडाबाट देखिने दृश्यमा खासै भिन्नता नदेखिने उल्लेख गर्दै त्यो बजेट पर्यटकीय पूर्वाधारमा खर्चिनुपर्ने धारणा राखे ।
यस्तै, पर्यटन उद्यमी देवराज जैशीले कर्णाली र भेरी नदी विश्वकै उत्कृष्ट राफ्टिङ गन्तव्यमध्येमा पर्ने भएपनि प्रचार प्रसार र पूर्वाधार अभावले लाभ लिन नसकिएको बताए । उनले भने, ‘कर्णाली नदी विश्वका उत्कृष्ट पाँच नदीभित्र समेटिएको छ । यति हुँदाहुँदै पनि यस क्षेत्रमा केही गम्भीर समस्याहरू छन् ।’ ‘‘रिभर गाइड’ केवल डुङ्गा चालक मात्र नभएर उनीहरू प्राथमिक उपचारक, कुक र दोभाषे पनि हुन् । हाल सुर्खेत र कर्णालीमा यस्ता दक्ष गाइडको अभाव छ र बाहिरबाट ल्याउँदा निकै महँगो पर्ने गर्दछ,’ जैशीले भने ।
नेपाल पर्यटन बोर्डले गर्ने अन्तर्राष्ट्रिय मेलाहरूमा कर्णालीका उद्यमीहरूको पहुँच पुग्न नसकेको उनले बताए । युरोप वा अमेरिकाका मेलामा स्टल राख्न लाखौँ खर्च हुने भएकाले व्यक्तिगत लगानीमा बजारीकरण गर्न सम्भव नभएको उनको भनाई थियो । उनले भने, ‘अब मोटा पुस्तक र ब्रोसरको जमाना गइसकेको छ । टिकटक, इन्स्टाग्राम र फेसबुक जस्ता सामाजिक सञ्जालमा कर्णालीलाई ‘डिस्कभर कर्णाली’ वा ‘एडभेन्चर कर्णाली’ जस्ता ब्राण्डका नाममा प्रचार गर्न आवश्यक छ ।’
त्यस्तै, सत्रका वक्ता आरोग्य अभियान्ता राधा पौडेलले कर्णालीलाई आरोग्य पर्यटनको केन्द्र बनाउन सकिने सम्भावनाबारे औल्याइन । पौडेलका अनुसार आरोग्य पर्यटन भनेको केवल घुम्नु मात्र होइन । यो व्यक्तिको शारीरिक, मानसिक, आध्यात्मिक, भावनात्मक, सामाजिक र वातावरणीय स्वास्थ्यसँग जोडिएको विषय हो । कर्णालीको स्वच्छ वातावरण, जडीबुटी र प्राकृतिक सुन्दरता यसका लागि सबैभन्दा उपयुक्त छ । उनले कर्णालीमा पाइने अमूल्य जडीबुटीहरूलाई प्रशोधन गरी आयुर्वेदिक उपचारसँग जोड्न सकिने बताइन ।
उनले भनिन्, ‘जुम्लाको तातोपानी जस्ता क्षेत्रहरूलाई केवल नुहाउने ठाउँका रूपमा मात्र नभई ‘हाइड्रोथेरापी’ केन्द्रका रूपमा विकास गर्न सकिन्छ । यसले बाह्य पर्यटकलाई आकर्षित गर्न ठूलो भूमिका खेल्छ ।’
दैलेखको महाबु जस्ता शान्त र उचाइमा रहेका ठाउँहरूमा ध्यान केन्द्र स्थापना गरी पर्यटकहरूलाई कम्तीमा एक हप्ता बस्ने गरीका प्याकेज बनाउँन सकिए आरोग्य पर्यटनबाट लाभ लिन सकिने उनले बताइन । यस्तै, उनले कर्णालीको रैथाने खानपान र जीवनशैली आफैँमा आरोग्यको स्रोत भएको बताउँदै यसलाई पर्यटनसँग जोडेर आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिइन ।
‘१० वर्षे गुरुयोजना मुताविक अघि बढेका छौं’
सत्रका वक्ता रहेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव अजितकुमार कर्णले कर्णालीको पर्यटन विकासका लागि १० वर्षे दीर्घकालीन गुरुयोजना तयार पारेर अघि बढेको दावी गरे । यसमा विभिन्न पर्यटकीय गन्तव्यहरूको पहिचान र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको उनको भनाई छ ।
उनले ‘गन्तव्य कर्णाली’ मोबाइल एपमार्फत पर्यटकहरूलाई सूचना दिन एक वर्षअघि नै मोबाइल एप निर्माण गरिएको बताए । यसलाई थप परिष्कृत र अपडेट गर्ने काम भइरहेको उनको भनाई छ । ‘मोवाइल एपमा होटल, रुट, शुल्क र दूरीको विस्तृत जानकारी रहन्छन्,’ सचिव कर्णले भने, ‘कर्णालीलाई ‘पवित्र र शुद्ध’ क्षेत्रका रूपमा ब्राण्डिङ गरिँदैछ । यहाँको अर्गानिक कृषि र प्राकृतिक शुद्धतालाई विश्व बजारमा चिनाउने लक्ष्य सरकारको छ ।’
उनले सन् २०३० सम्म कर्णालीमा वार्षिक १५ लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य सुनाए । हाल पर्यटकको बसाइ औसत चार दिन रहेकोमा त्यसलाई बढाएर १० देखि २१ दिनसम्म पुर्याउने योजनासहित प्रदेश सरकार अघि बढेको सचिव कर्णको दावी छ । यसका लागि हवाई उडानलाई सुर्खेतबाट सिधै हिमाली जिल्लाहरूमा जोड्न नागरिक उड्डयन प्राधिकरणसँग समन्वय भइरहेको उनको भनाई छ । पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक पूर्वाधार निर्माण गर्न भौतिक मन्त्रालयसँग समन्वय गरेर अघि बढिरहेको सचिव कर्णको भनाई छ ।










