६,बैशाख २०८३
बाँके । जिल्लामा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हुने हिंसाका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको गत चैत महिनाको विवरणअनुसार एक महिनामै यस्ता प्रकृतिका १०३ वटा उजुरी दर्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टका अनुसार दर्ता भएका उजुरीमध्ये ८२ वटा विभिन्न प्रक्रियामार्फत फर्छ्योट गरिएको छ भने २१ वटा उजुरी अझै प्रक्रियामै रहेका छन्।
उजुरी दिने पीडितहरूको उमेर समूह हेर्दा १८ देखि २५ वर्षका २५ जना तथा २६ देखि ३९ वर्ष समूहका ५२ जना रहेको प्रहरीले जनाएको छ। यसले सक्रिय उमेर समूहका महिला तथा अन्य संवेदनशील वर्गहरू बढी प्रभावित भएको संकेत गर्दछ।
यस्तै, सोही अवधिमा ५३ जना महिला, बालबालिका र जेष्ठ नागरिक हराएको वा बेपत्ता भएको भन्दै खोजतलासका लागि निवेदन परेको थियो। प्रहरीका अनुसार खोजीका क्रममा २९ जना फेला परेका छन् भने अझै २४ जनाको खोजी जारी छ।
हराएकामध्ये २५ जना महिला, १९ जना बालिका, ४ जना बालक र ५ जना जेष्ठ नागरिक रहेका थिए। फेला परेकामध्ये ११ जना महिला, १३ जना बालिका, ३ जना बालक र २ जना जेष्ठ नागरिक छन्। हालसम्म १४ जना महिला, ६ जना बालिका, एक जना बालक र ३ जना जेष्ठ नागरिकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, चैत महिनामा घरेलु हिंसा तथा झैँझगडाका ६८ वटा उजुरी परेकोमा ५२ वटा उजुरीमा दुवै पक्षबीच मिलापत्र गराइएको छ भने बाँकी घटनाको अनुसन्धान जारी रहेको छ।
समग्र अपराधको अवस्था हेर्दा, सोही अवधिमा जिल्लामा जघन्य, गम्भीर तथा सामान्य प्रकृतिका गरी २०१ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये १७१ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रहरीले पछिल्लो समय हिंसाका घटनामा वृद्धि देखिएको भन्दै सचेतना, निगरानी र कानुनी कारबाहीलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको जनाएको छ।










