‘एक माइल, एक विश्व’ अभियानअन्तर्गत कोहलपुरमा अन्तर्राष्ट्रिय स्तरको माइल दौड आयोजना हुने

  • नमस्ते कर्णाली

  • ६, बैशाख २०८३
    कोहलपुर । विश्वव्यापी रनिङ संस्कृति प्रवर्द्धन गर्ने ‘वन ग्लोबल माइल’ अभियानअन्तर्गत आगामी असार २७ गते (जुलाइ ११) नेपालमा ‘कोहलपुर माइल’ दौड आयोजना हुने भएको छ। हरेक वर्ष जुलाइ ११ मा विश्वभर एकैसाथ सञ्चालन हुने यो अभियानले ‘एक माइल, एक दिन, एक विश्व’ नारामार्फत खेलकुदमार्फत एकता र स्वास्थ्य सचेतना फैलाउने लक्ष्य राखेको छ।
    यस वर्ष दर्जनभन्दा बढी देशमा एकै समयमा १.६०९ किलोमिटर दूरीको दौड आयोजना हुने कार्यक्रमअन्तर्गत नेपालमा पनि कोहलपुर माइल सञ्चालन गर्न लागिएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार छोटो दूरीको रोड रेस भएकाले सबै उमेर समूहका सहभागीका लागि सहज र आकर्षक हुने अपेक्षा गरिएको छ।
    रेस नेपालको आयोजनामा हुने उक्त प्रतियोगिताको व्यवस्थापन नेपालगञ्ज म्याराथन टिमले गर्नेछ। कोहलपुर माइललाई नेपालगञ्ज म्याराथन सिरिजअन्तर्गत समेटिएको गुरुङले बताउनुभयो। यस सिरिजअन्तर्गत यसअघि नेपालगञ्ज १० म्युजिक नाइट रन, काठमाडौं २५ के हेरिटेज रेस, कर्णाली हाफ म्याराथन, गौघाट ग्रीन रन र राप्तीसोनारी नेचर रन जस्ता प्रतियोगिताहरू सफलतापूर्वक सञ्चालन भइसकेका छन्।
    वन ग्लोबल माइलको सुरुआत अमेरिकाको न्यूयोर्कस्थित ‘ह्युडसन माइल’ बाट भएको हो, जसले विस्तार हुँदै अन्तर्राष्ट्रिय अभियानको रूप लिएको छ। विश्व रनिङको साझा संस्था ‘एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)’ले यस अभियानलाई आधिकारिक रूपमा प्रवर्द्धन गर्दै आएको छ।
    ह्युडसन माइलका सहसंस्थापक तथा रन बंग्लाका सिइओ जोन बोका र एम्सका दूत तथा धारा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले वन ग्लोबल माइललाई विश्वव्यापी बनाउने अभियानमा विशेष योगदान दिएको बताइएको छ।
    एम्सका दूत ठकुरीका अनुसार वन ग्लोबल माइलमा सहभागी हुन एम्ससँगको आबद्धता अनिवार्य मानिन्छ, जसले प्रतियोगिताको अन्तर्राष्ट्रिय मान्यता र विश्वसनीयता सुनिश्चित गर्दछ।

  • ६ बैशाख २०८३, आईतवार १५:४३ प्रकाशित

  • Nabintech