बर्दिया,७बैशाख ।
एम्बुलेन्सको ठक्करबाट बर्दियामा एकै परिवारका दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। आइतबार बिहान गुलरिया नगरपालिका–७ स्थित वन डिभिजन कार्यालय नजिक भएको दुर्घटनामा गुलरिया–५ का ५५ वर्षीय भूमि लामिछाने र उनका करिब ७ वर्षीय नाति रिहान्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
प्रहरीका अनुसार कोहलपुरबाट राजापुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश बी एए ०३०५ नम्बरको एम्बुलेन्सले सडक पार गरिरहेका चार जना पैदलयात्रीलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका नाति रिहान्सको जिल्ला अस्पताल बर्दियामा उपचारका क्रममा मृत्यु भएको थियो भने भूमि लामिछानेको बाँकेको नेपालगञ्जस्थित नरसिंह होममा उपचारका क्रममा ज्यान गएको हो।
दुर्घटनामा परी भूमिका श्रीमती ५० वर्षीया सीता लामिछाने र ६५ वर्षीय सूर्य उपाध्याय घाइते भएका छन्। दुवै जनालाई थप उपचारका लागि नेपालगञ्ज ल्याई सञ्जीवनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार बिहान करिब सवा ५ बजे योग गर्न आयुर्वेद अस्पतालतर्फ जाँदै गरेका उनीहरू सडक पार गर्ने क्रममा तीव्र गतिमा आएको एम्बुलेन्सले ठक्कर दिएको हो। मृतक भूमि लामिछाने योग गुरुका रूपमा परिचित थिए।
ठक्कर दिने एम्बुलेन्स कोहलपुरको सिर्जनशील टोल विकास संस्थाले सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ। दुर्घटनाका बेला एम्बुलेन्समा चालक मात्रै सवार थिए। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।










