मुगु ,९ बैशाख ।
मुगुको मुगुम कार्मारोङ गाउँपालिका–८, मह गाउँकी ३० वर्षीया साग्बु लामा सोमबार साँझ जीवन र मृत्युबीचको कठोर र भयावह संघर्षबाट गुज्रिइन्। सदरमुकाम गमगढीबाट आफ्नै घर फर्किने क्रममा साँझ करिब ७ बजे, च्याप्नेगाडको भीरालो, साँघुरो र जोखिमपूर्ण बाटोमै उनी सुत्केरी भइन्।त्यो बेला उनी पूर्ण रूपमा एक्लिएकी थिइन्। साथमा न आफन्त, न कुनै सहयोगी हात। वरिपरि बाक्लो अँध्यारो, तल गर्जिँदै बगिरहेको कर्णाली नदी र माथि ठाडो, चिप्लो भिर,जहाँ एक पाइला चिप्लिँदा ज्यानै जान सक्ने जोखिम थियो। त्यहीँ असह्य प्रसव पीडाबीच उनले आफ्नो ज्यानको बाजी राख्दै शिशुलाई जन्म दिइन्। नवजात शिशु रगत, माटो र ढुंगाले लत्पतिएको अवस्थामा थियो। चिसो हावाले उसको सानो शरीर निलो बनाउँदै लगिरहेको थियो। तर, ती सबै भयावह अवस्थाबीच पनि आमाको साहस र ममता कमजोर परेन।आफ्नो ज्यानको चिन्ता नगरी साग्बुले मोबाइल फोनमार्फत छायल बजारमा रहेकी आफ्नी एक साथीलाई खबर गरिन्। दुर्गम भूगोलमा सञ्चारको त्यो सानो माध्यम नै जीवनको सहारा बन्यो। खबर पाएलगत्तै ती साथीले छायल स्वास्थ्य चौकीकी अनमी विष्णु बुढा र प्रस्तुती केन्द्र छायलकी तिला मल्ललाई जानकारी दिइन्। त्यसपछि प्रहरी र स्वास्थ्यकर्मीको टोली तत्काल उद्धारका लागि खटियो।स्थानीयका अनुसार, प्रहरी चौकी छायल र स्वास्थ्य चौकी छायलका स्वास्थ्यकर्मी समयमै नपुगेको भए आमा र शिशु दुवैको ज्यान त्यहीँ गुम्ने सम्भावना प्रबल थियो। भीर, ढुंगा र अँध्यारो चिर्दै पुगेको उद्धार टोलीले सुत्केरी लामा र नवजात शिशुलाई जोखिमपूर्ण अवस्थाबाट निकालेर छायल प्रसूति केन्द्रसम्म पु¥यायो। उद्धार आफैंमा जीवनसँगको दौडजस्तै थियो।तर शिशुको अवस्था गम्भीर देखिएपछि तत्काल जिल्ला अस्पताल रिफर गरियो। अस्पताल करिब चार घण्टाको दूरीमा थियो, जहाँ पुग्न सहज यातायातको कुनै व्यवस्था थिएन। समयसँगको प्रतिस्पर्धा झनै कठोर बन्दै गइरहेको थियो। यही बीच, मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावललाई स्थानीयले फोनमार्फत जिप व्यवस्थापनका लागि आग्रह गरे। उनको पहलमा सवारी व्यवस्था भएपछि प्रहरी र स्वास्थ्यकर्मीले आमा र शिशुलाई जिल्ला अस्पताल पु¥याए।जहाँ अहिले नवजात शिशुको आईसियुमा उपचार भइरहेको छ। आमाको अवस्था भने सामान्य रहेको जनाइएको छ।घटनाले परिवारलाई पनि स्तब्ध बनायो। साग्बुबा पति पेमा राप्के लामा घरमै सानी छोरीको हेरचाहमा व्यस्त थिए। साग्बु माइतीबाट फर्किँदै गरेको उनलाई थाहा नै थिएन। “बाटोमै सुत्केरी भएको खबर पाएपछि म छायल बजार पुगेँ, तर उनलाई अस्पताल लगिसकिएको रहेछ,” उनले भावुक हुँदै भने। घरमा रहेकी सानी छोरीलाई अरूकै जिम्मा लगाएर उनी हतारिँदै अस्पताल पुगे।उद्धारमा संलग्न प्रस्तुती केन्द्र छायलकी इन्चार्ज तिला मल्लका अनुसार, घटनास्थलमा पुग्दा दृश्य अत्यन्तै भयावह थियो। आमा शरीरभरि पसिना र रक्तस्रावले भिजेकी थिइन्। “चिसोका कारण शिशु निलो भइसकेको थियो, शरीरभरि माटो र ढुंगाले लत्पतिएको अवस्थामा भेट्यौँ,” उनले भनिन्।यो घटना केवल एक परिवारको पीडा होइन, दुर्गम भेगका हजारौँ गर्भवती महिलाले भोग्नुपरेको कठोर यथार्थको प्रतिनिधि समस्या हो। स्वास्थ्य सेवा पहुँचको अभाव, जोखिमपूर्ण भूगोल, यातायात र आपतकालीन सेवा अभावले महिलालाई अझै पनि ज्यान जोखिममा पारेर सन्तान जन्माउन बाध्य बनाइरहेको छ।तर यही अन्धकारबीच साग्बुकाे साहस एउटा उज्यालो उदाहरण बनेको छ।जहाँ एक आमाले असम्भवजस्तो परिस्थितिमा पनि जीवन जन्माइन्। साथै, समयमै खटिएका स्वास्थ्यकर्मी, प्रहरी र स्थानीयको सक्रियताले देखाएको मानवीयता र उत्तरदायित्वले दुई जीवन जोगाउन सफल भएको छ।बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलाहरूले यातायात खर्चबापत ३ हजार रुपैयाँ, प्रोत्साहनबापत ८ सय रुपैयाँ र प्रदेशको ‘कोसेली’ कार्यक्रमअन्तर्गत २ हजार ५ सय रुपैयाँ पाउने व्यवस्था छ।









