भोलीदेखि कर्णाली युवा महोत्सवको दोस्रो संस्करण

  • नमस्ते कर्णाली

  • सुर्खेत, १८ बैशाख ।

    कर्णाली प्रदेशका युवाहरूको प्रतिभा पहिचान र क्षमता विकास गर्ने उद्देश्यका साथ कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आयोजना हुने भएको छ । शनिबारदेखि (१९ र २० वैशाख) वीरेन्द्रनगरस्थित सिटी हलको प्रांगणमा महोत्सव सञ्चालन हुने आयोजकले जनाएका छन् । गत वर्ष माघमा सम्पन्न पहिलो संस्करणको सफलतापछि यस वर्ष थप परिष्कृत रूपमा महोत्सवलाई निरन्तरता दिन लागिएको आयोजकको दाबी छ ।

    परिवर्तनका लागि युवा, राष्ट्रिय युवा परिषद्, राष्ट्र निर्माण मञ्च नेपाल, प्लेयिङ फर चेन्ज र कर्णाली युथ फाउन्डेसनलगायत संस्थाहरू यस महोत्सवका आयोजक तथा सह–आयोजकका रूपमा छन् । ‘कर्णालीका युवाहरूका लागि आफ्नो शक्ति, सिर्जनशीलता र सम्भावनालाई उजागर गर्ने साझा डबलीको रूपमा दोस्रो संस्करण गर्न लागेका छौँ’, मूल आयोजक समितिका संयोजक विनोदकुमार शाहीले भने, ’कर्णालीको समृद्धिमा राज्यको दायित्व, जनप्रतिनिधि र युवाका सवाल, मिडियामा कर्णालीको स्थान, पर्यटन, शिक्षा, र स्वास्थ्य जस्ता विषयमा गहन छलफल हुनेछ ।’

    त्यस्तै, महोत्सवमा वक्तृत्वकला, क्षितिज समर्पणद्वारा लिखित पुस्तक तोरकिन र ओम रिजालद्वारा लिखित पैकेलोको चर्चा गरिने जनाइएको छ । कर्णालीका विभिन्न क्षेत्रमा उदाहरणीय कार्य गर्ने कर्णालीका उत्कृष्ट १० जना युवालाई कर्णाली युथ आइकन अवार्डबाट सम्मानित गरिने शाहीले बताए । महोत्सवमा कर्णालीको मौलिक देउडा खेल, सांगीतिक र साहित्यिक प्रस्तुतिहरू पनि समावेश हुनेछन् ।

  • १८ बैशाख २०८३, शुक्रबार ०९:३२ प्रकाशित

  • Nabintech